शुक्रबार , बैसाख ७, २०८१

नेपाली राजनिती,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०७४ को आमनिर्वाचनमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित भए ।

चितवनमै हुर्केबढेका प्रचण्ड पहिलोपटक त्यहाँबाट निर्वाचित हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेलाई झण्डै साँढे ९ हजार मतले पराजित गरेका थिए ।

प्रचण्डले ४८२७६ मत ल्याउँदा पाण्डेले ३८९३५ मत ल्याएका थिए । गएको आमनिर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको थियो ।

प्रचण्डको मत यसकारण पनि दुई दलको मिलेर आएको हो । निर्माण व्यवसायी समेत रहेका राप्रपा नेता पाण्डे चितवनमा प्रभावशाली मानिन्छन् ।

अबको चुनावमा प्रचण्डले चितवनबाट नै मैदानमा उत्रने घोषणा गरेका छन् । यसपटक उनको मुख्य प्रतिद्वन्द्वीु सजिलो भने हुने छैनन् ।

पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले प्रचण्डविरुद्ध चुनाव लड्ने घोषणा गरिसकेका छन् । बादल एमालेमा छन् र उनको गृहजिल्ला पनि चितवन हो । बादललाई प्रचण्डविरुद्ध चुनावी मैदानमा उतार्न एमाले अध्यक्ष केपी शर्मा ओलीले रणनीति र शक्ति प्रयोग गर्न थालिसकेका छन् ।

ओलीले महत्वपूर्ण शक्ति आफूविरुद्ध लगाउने देखेर प्रचण्डले चितवनमा महाभारतको जस्तो लडाईं हुनलागेको टिप्पणी गरेका छन् । उनले चितवन कुरुक्षेत्रमा परिणत हुन लागेको बताएर तरंग ल्याइदिएका छन् । यसकारण पनि प्रचण्डलाई चितवनबाट चुनाव जित्न सजिलो छैन ।

गत निर्वाचनको मत परिणामलाई दृष्टिगत गर्दा माओवादीको मात्र मतले प्रचण्ड चुनाव जित्ने सम्भावना कमजोर छ । उनले अर्को शक्तिशाली दलसँग कुनैपनि किसिमको गठबन्धन गर्नुपर्ने हुन्छ । नेपाली काँग्रेस या राप्रपाको साथ पाएमात्र प्रचण्डलाई सजिलो हुन्छ । तर, त्यो सम्भावना लगभग छैन । चितवन काँग्रेसको बलियो गढ हो ।

एमालेबाट विभाजित नेकपा एसको चितवनमा पकड कमजोर छ । चितवनबाट निर्वाचित एमाले सांसदहरु सुरेन्द्र पाण्डे र कृष्णभक्त पोखरेल दुवै ओलीको साथमा लागेका छन् ।

प्रचण्डले चितवनलाई निर्वाचन क्षेत्र बनाएपनि त्यहाँ माओवादीको पकड खासै बलियो भने छैन । उनले रणनीतिक चातुर्यताले चुनाव जितेका हुन् । प्रचण्डले पहिलो संविधानसभाको निर्वाचनमा काठमाडौंबाट विजय हासिल गरेका थिए ।

दोस्रो संविधानसभाको निर्वाचनमा काठमाडौं र सिराहाबाट उम्मेदवार बनेका उनी एक ठाउँबाट पराजित भएका थिए । सिराहाबाट निकै कम मतान्तरले मात्र विजयी भएका थिए । प्रचण्डले त्यसपछि चितवनलाई निर्वाचत क्षेत्र बनाउने गरी आफूलाई केन्द्रित गरेका छन् ।

पछिल्लो समय प्रचण्डको चितवन ओहोरदोहोर बढेको छ । अबको एक वर्षभित्र चुनाव हुने भएपछि प्रचण्डको दौडधूप बढेको हो । तर, उनलाई यसपटक चुनाव सजिलो छैन ।

प्रचण्डले माओवादीलाई पहिलो नम्बरको दल बनाउने महत्वाकांक्षी योजनासहित रणनीति बढाएका छन् । यसलाई असम्भव मान्न सकिदैन । उनको पूर्वमाओवादीलाई एक बनाउने र त्यसपछि माधवकुमार नेपाल र बामदेव गौतमलाई पनि साथ लिएर चुनावी गठबन्धन बनाउने योजना देखिएको छ । त्यस्तो अवस्थामा भने प्रचण्डले चुनावी बाजी मार्ने सम्भावना बलियो हुन्छ ।यो खबर न्युज पर्दा डटकम बाट साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय