शनिबार , बैसाख ८, २०८१

पुरा खबर,

सन् २००८ मा छ वर्ष उमेरमा इटाली पुगेका थिए विकास।

गोदावरीको एक बालआश्रमबाट उनलाई एक इटालियनले ‘एडप्ट’ गरेर इटाली लगेका थिए। इटाली पुगेपछि उनको नाम पछाडि थपियो थर, मेराग्लिया।

इटालीको फुटबल वातावरणमा हुर्किएका विकास आफ्नो उमेर समूहका टिममा क्षमता देखाएपछि चर्चामा आएका थिए। त्यसैले उनी सन् २०१८ मा इटालीको यू-१६ राष्ट्रिय टिममा परेका थिए। त्यति बेला उनले यू-१६ राष्ट्रिय टिमबाट दुई खेल खेल्ने अवसर पाएका थिए।

विकासले इटालीको यू-१६ टिमसँगै सिरि ए क्लब एटलान्टा र भेनेजियाको युवा टिमबाट खेलिसकेका छन्। त्यस्तै काटोलिया र मारिग्लयोनेसकी सिनियर टिमबाट समेत खेलिसकेका छन्।

युरोपको प्रतिष्ठित क्लब एटलान्टाको जुनियर टिमबाट खेलेपछि विकासको चर्चा इटालियन युथ फुटबलमा प्रभावशाली खेलाडीका रूपमा हुने गरेको छ।

इटालीको युथ फुटबलमा रमाइरहे पनि उनले मुटुमा आफ्नो जन्मभूमि नेपाललाई सजाएर राखेका थिए। उनी सधैं नेपाल फर्किने उपाय सोचिरहन्थे। नेपाल फर्किन माध्यम खोजिरहन्थे।

फुटबलरको परिचय बनाइरहेका विकासका लागि त्यो माध्यम आखिर फुटबल नै भइदियो। उनी नेपालको सहिद स्मारक ए डिभिजन लिग खेल्नका लागि गत मंगलबार नेपाल आए।

विकासले शुक्रबार च्यासल युथ क्लबसँग एक वर्षको सम्झौता गरेका छन्। सम्झौतापछि विकासले नेपाल फर्कने सपना पूरा भएकोमा खुसी व्यक्त गरे।

‘१३ वर्षदेखि नेपाल आउने मेरो सपना थियो। त्यो अहिले पूरा भएको छ। नेपाल आउन यति लामो यात्रा हुन्छ भन्ने सोचेको थिइनँ। त्यसैले यात्रा ‘हेक्टिक’ भयो। म चढेको जहाज काठमाडौंमा ल्यान्ड गरेपछि मैले आफू स्वतन्त्र भएको महसुस गरें,’ विकासले इटालियनमै भने।

विकास नेपाल आउने विषय गत सातादेखि नै चर्चामा थियो। नेपाली राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले विदेशमा रहेका नेपाली मूलका खेलाडीलाई नेपाली टिमबाट खेलाउनु पर्ने धारणा राखेका थिए। साफ च्याम्पियनसिपका दौरान अलमुताइरीले विकासलाई नेपाल फर्काउने विषयमा कुरा भइरहेको समेत संकेत गरेका थिए।

कतिपय नेपाली फुटबल फ्यानहरूले विकासले नेपाली फुटबल खेल्नु पर्ने भन्दै आफ्ना धारणा सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै आइरहेका छन्। इटालियन पासपोर्ट बोक्ने विकासले निकट भविष्यमै नेपाली टिमबाट खेल्ने सम्भावना भने छैन। किनभने उनले नेपालबाट खेल्न इटालियन पासपोर्ट त्याग्नु पर्छ र नेपालको पासपोर्ट बोक्नु पर्छ।

भविष्यमा नेपाली टिमबाट खेल्ने विषयमा सोधिएको प्रश्नमा विकासले नेपालबाट खेल्दा खुसी हुने तर अहिले नै यस विषयमा अहिले केही नै धारणा नबनाएको प्रतिक्रिया दिए।

‘नेपाली टिमबाट खेल्ने अवसर पाएँ भने धेरै नै खुसी हुनेछु। अहिलेसम्म मैले नेपालमा बसेर यहीँ नै गर्छु भनेर सोचेको छैन। बल्ल नेपाल आउँदैछु। यहाँको वातावरण हेरेर नेपाली टिमबाट खेल्ने विषयमा विचार गर्नेछु,’ उनले भने।

१३ वर्षअघि इटाली जानुको कारण र उनको परिवारको विषयमा सोधिएको विषयमा भने उनले खुलाउन चाहेनन्। तर उनले नेपाल सधैँ आफ्नो मुटुमा रहेको र सधैँ नेपाल फर्कने विषयमा मात्र सोच्ने गरेको बताए।

‘मलाई इटालीको सबै कुरा मन पर्छ। त्यहाँको कल्चर र खानेकुरा मन पर्छ। तर मुटुमा नेपालको बारेमा केही थियो। नेपालका लागि केही गर्नु पर्छ भन्ने थियो,’ उनले भने।

‘१३ वर्षअघि इटाली गएको थिएँ। इटाली जाँदा नेपाललाई मुटुमा लिएर गएको थिए। जहिले पनि नेपाल सम्झिरहन्थें। कसरी नेपाल जान सक्छु होला भन्ने लाग्थ्यो। तर यो सपना १३ वर्षछि पूरा भएको छ। यहाँ आउँदा खुसी छु,’ उनले भने,

अहिले विशेषगरी फुटबल खेल्न आएको हुँ। मेरो अर्को व्यक्तिगत काम पनि छ। जुन म अहिले सार्वजनिक गर्न चाहन्नँ। यसका लागि उचित समय हेर्नेछु र सबै कुरा भन्नेछु।’ सेताेपाटीले लेखेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय