पुरा खबर,

काठमाडौं । भरतपुर महानगपालिकाकी महानगर प्रमुख (मेयर) रेणु दाहालले धुर्मुस– सुन्तली फाउण्डेसनले गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्न नसकेपछि उक्त कामको जिम्मा सरकारले लिनुपर्ने बताएकी छन् ।

शनिबार चितवन उद्योग संघको साधारणसभालाई सम्बोधन गर्दै पिता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग धुर्मुस–सुन्तलीले बनाउन नसकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको जिम्मा सरकारले लिनुपर्ने बताइन् । ,

उनले भनिन्, ‘देशकै गरिमा बोकेको रंगशाला निर्माणका लागि महानगरले जग्गा उपलब्ध गरायो । आवश्यक सबै सहयोग गर्‍यो। तर, स्रोत जुटाउने जिम्मा लिएका धुर्मुस, सुन्तलीले बनाउन सकेनन् ।अब रंगशाला निर्माणको जिम्मा सरकारले लिनुपर्ने भयो।’

हाल माओवादी गठबन्धनबाट देउवा सरकारमा सामेल छ । र, यहीँ बेला बहुवर्षीय योजनाअन्तर्गत रहेको रंगशाला निर्माणको काम निजी स्तरबाट सरकारी स्तरमा ल्याएर अघि बढाउनुपर्ने मेयर दाहालको धारणा छ ।

आर्थिक अभावका कारण गत साउन १५ देखि रंगशाला निर्माणको काम बन्द रहेको छ । रंगशाला निर्माणका क्रममा १६ करोड रुपैयाँ ऋण लागेपछि निर्माण अघि बढाउन नसकिएको धुर्मुस–सुन्तली फाउण्डेशनले जनाएको छ ।

साथै, ऋणमा डुबेर रंगशाला बनाउन नसकिने भन्दै निर्माणको काम रोकेर फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ काठमाडौंमा छन् ।

निर्माणको काम थालनी गर्नुपूर्व रंगशाला निर्माणका विषयमा विभिन्न टिकाटिप्पणी चलेका थिए । जसमध्ये बहुवर्षीय योजनाका काम निजी होइन सरकारी स्तरबाट काम हुनुपर्ने आवाज उठेका थिए । यो खबर न्युज २४ मा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय