मंगलबार , चैत्र ६, २०८०

पोखरा ।

पोखरा क्षेत्रीय विमानस्थल आगामी जनवरी १ देखि सञ्चालनमा ल्याउने गरी तयारी थालिएको छ ।

विमानस्थल स्थानान्तरण तथा सञ्चालन तयारी गर्न गठित कार्यदलले नागरिक उड्ड्यन प्राधिकरणलाई जनवरी १ देखि नै उडान खुला गर्न सिफारिस गरेको कार्यदलका संयोजक विक्रम गौतमले जानकारी दिए ।

शुरुमा आन्तरिक उडानमात्रै शुरु गर्ने र वैशाखपछि मात्रै अन्तर्राष्ट्रिय उडान गर्ने गरी कार्यदलले सिफारिस गरेको पोखरा विमानस्थलका प्रमुखसमेत रहेका गौतमले बताए । अबको तीन महिनाभित्रै विमानस्थल सञ्चालन गर्ने गरी महत्वाकांक्षी योजना अघि सारेको समेत उनले बताए ।

‘सन् २०२२ को जनवरी १ देखि उडान सुरु गर्न सिफारिस गरेको छु । त्यतिबेला कम्तिमा आन्तरिक उडान यो विमानस्थलबाट सञ्चालन हुनपर्छ’ गौतमले भने ।

बुधबार पोखरा क्षेत्रीय विमानस्थल अवलोकनका लागि गएका गण्डकी प्रदेश मुख्यमन्त्रीसहितको टोलीलाई संयोजक गौतमले आन्तरिक उडान सञ्चालन गर्ने र त्यसको एक वर्षभित्र बाह्य उडान पनि शुरु गर्ने गरी तयारी गरिरहेको जानकारी दिएका हुन् । ‘आशा छ, हामीले अन्तर्राष्ट्रिय मापदण्डकै सुरक्षा र सुविधासहितको व्यवस्थापन गरेर नै अन्तर्राष्ट्रिय उडान गर्ने छौं,’ उनले भने ।

अन्तर्राष्ट्रिय मापदण्डको उडानका लागि अहिले पूर्वी भागको रिठ्ठेपानी डाँडा मुख्य समस्याको रुपमा रहेको आयोजनाको भनाइ छ । उक्त डाँडा कटानका लागि नापी कार्यालय र वन कार्यालयले रुखको लगत तयार नगरिदिँदा डाँडा कटान हुन सकेको छैन ।

त्यस्तै, पोखरा महानगरले निर्माणाधिन विमानस्थल नजिकै रहेको स्यानिटरी ल्यान्डफिल साइटको विकल्प नखोज्दा भविष्यमा उडानमा ‘बर्ड हाजार्ड’ हुने आयोजनाले चेतावनी दिँदै आएको छ । पहिले आन्तरिक उडान शुरु गर्दा अन्तर्राष्ट्रिय उडान तयारीलाई पनि सजिलो हुने र विमानस्थल निर्माण कार्यलाई पनि बाधा नपुग्ने गौतमको भनाइ थियो ।

‘आन्तरिक उडानले रिठ्ठेपानी डाँडा काट्ने कुराले पनि समस्या गर्दैन । बाँकी रहेका अरु समस्या पनि समाधान गर्दै अघि बढ्न सकिन्छ भन्ने हो’ गौतमले भने ।विमानस्थल ‘सेफ्टी, सेक्युरिटी र फेसिलिटी’ तीन वटा कुरालाई ध्यानमा राखेर विमानस्थल सञ्चालन गर्ने उनले सुनाए । विमानस्थल सञ्चालनका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानका संस्थासँग निरन्तर छलफलमा रहेको गौतमले बताए ।

पोखरा क्षेत्रीय विमानस्थलबाट उडान भर्ने हवाई यात्रालाई छोटो र सस्तो बनाउन आफूहरुले ‘एअररुट’को अध्ययन गरिरहेको उनको भनाइ छ । ‘हामीसँग भएका भैरहवा, वीरगञ्ज, सिमरा र त्यसबाहेक एउटा चीनबाट आउने र अर्को पारो (भुटान)को रुट हो ।

उडान समय घटाउन भैरहवाबाट एअर रुट जोड्न सके राम्रो हुन्छ । तर, भैरहवाको अहिलेसम्मको रुट भनेको आउटगोइङ रुटमात्रै हो, इनकमिङ रुट होइन,’ गौतमले भने, ‘यसरी हेर्दा विदेशबाट बढी सम्पर्क जोड्न सबैभन्दा मेन रुट भनेकै सिमरा रुट हो ।’

गौतमले उद्घाटन समयमै चाइनाको हङकङ, बैंकक, दोहा, दिल्ली ४ वटा गन्तव्यलाई प्रारम्भिक रुपमा जोड्न अघि बढेको जानकारी दिए । ‘त्यो भनेको पर्यटन, सम्पर्क सजिलो भएको र धार्मिक तथा सांस्कृतिक हिसाबले अन्तर्राष्ट्रिय उडान सुरु गर्ने हो,’ उनले भने, ‘यी ४ गन्तव्यलाई जोड्न सक्यौं भने तत्कालका लागि यसले नयाँ तरंग पर्यटनलाई दिन्छ ।

’ आईकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन) को मापदण्ड अनुसार विमानस्थल बनिरहेको उनले बताए । ११ वटा जहाज पार्किङ गर्न सकिने उक्त विमानस्थलमा ‘न्यारो बडी’ जहाजले उडान भर्न सक्नेछ । ‘लामो दूरीका जहाजहरु इन्धनका कारण आउन नसक्ने हुन् । त्यसबाहेक मध्यम दूरीका जहाजहरु यहाँ आउन कुनै समस्या छैन’ गौमतले भने ।

विमानस्थलबाट दैनिक आन्तरिक ४८ र अन्तर्राष्ट्रिय ६ वटा उडान गर्ने गरी नागरिक उड्ड्यन प्राधिकरणको तयारी रहेको उनले सुनाए । २०१७ नोभेम्बर १ देखि चिनियाँ कम्पनी सीएएमसीईले बनाइरहेको विमानस्थलको हाल ८४ प्रतिशत काम सकिएको विमानस्थल प्रमुख विनेश मुनकर्मीले जानकारी दिए ।

सन् २०२१ जुलाई १० मा सक्ने लक्ष्य भए पनि अहिले थप एक वर्ष म्याद थपिएको छ । ‘डिसेम्बरसम्म सबै निर्माण सामग्री आइसक्ने ठेकेदार कम्पनीले भनेको छ । त्यसपछि काम सजिलो हुन्छ,’ भने ।

हाल विमास्थलमा १ सय ८५ चिनियाँसहित ४ सय १५ जना कामदारले काम गरिरहेका छन् । पहिलो लकडाउनपछि पनि ७ सय बढी कामदार रहेकोमा दोस्रो चरणको महामारीपछि भने कामदार घटेको मुनकर्मीले जानकारी दिए ।

चीन सरकारको २२ अर्ब सहुलियत ऋणमा निर्माण भइरहेको विमानस्थलमा हालसम्म ६८ प्रतिशत वित्तीय खर्च भइसकेको उनले सुनाए । अनलाइन खबर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय