बुधबार , बैसाख १२, २०८१

पुरा खबर,

बुद्धएयरले विराटनगरमा अवतरण गर्न नसकेर फर्किएको जहाज काठमाडौंमा सुरक्षितसाथ ‘नर्मल’ अवतरण भएको जनाएको छ।

विराटनगर अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेसनमा समस्या देखिएको र टावरले पनि गियर नझरेको जानकारी दिएपछि चालकले जहाज काठमाडौं फर्काउने निर्णय गरेको बुद्धएयरले जनाएको छ।

सुरक्षा निर्देशिका अनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केहीबेर काठमाडौंको आकाशमा फन्को मारी सबै सुरक्षा मापदण्ड पुरा गरी सुरक्षितसाथ अवतरण गरेको बुद्धएयरले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

जहाजमा ल्याण्डिङ गेयरका लागि दुईवटा इन्डिकेटर रहेको हुन्छ । जसअनुसार प्राइमेरी इन्डिकेटरमा संकेत नदेखिएको तर सेकेण्डरी इण्डिकेटरमा सबै ठिकठाक रहेको बुद्ध एयरले जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘यसरी सेकेण्डरी इन्डिकेटरमा बत्ती बलेको अवस्थामा पनि ल्याण्डिङ गियर खुलेकै मानिन्छ ।

सुरक्षामा शून्य सहनशिलता अनुसार क्याप्टेनले जहाज तुरून्तै काठमाडौंमा फर्काउने निर्णय गर्यो । काठमाडौं आकाशमा आइसकेपछि क्याप्टेनले बुद्धएयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी दियो ।

जसअनुसार अन्तर्राष्ट्रिय तथा नागरिक उड्डयन प्राधिकरणले जारी गरेको दिशा निर्देशिका अनुसार काठमाडौं विमानस्थलमा सुरक्षितसाथ जहाजलाई ’नर्मल’ अवतरण गराइयो ।’बुद्धएयरको नाइन एन-एएनआइ कल साइन भएको जहाजमा ६८ वयस्क, २ बच्चा, ३ जना इन्फ्याण्ट गरी ७३ यात्रु रहेका थिए।

सोमबार बिहान ८:३० बजे बुद्ध एयरको विमान काठमाडौंबाट विराटनगरका लागि उडेको थियो। विराटनगर एयरपोर्टमा ल्यान्डिङका क्रममा जहाजको गियरमा समस्या आएपछि पुनः काठमाडौं फर्काइएको थियो। ताजा खबरबाट साभार गरियको खबर र सेतोपाटीको भिडियो हेर्नुस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय