बुधबार , बैसाख १२, २०८१

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्म समीक्षासहित रूपान्तरित भएर पार्टीलाई नयाँ शिराबाट अघि बढाइने बताएका छन्।

पार्टीको गण्डकी प्रदेश कमिटीले मंगलबार साँझ गरेको भर्चुअल प्रशिक्षण कार्यक्रममा उनले पार्टीको आन्तरिक एकता बलियो बनाउँदै पुनः देशको पहिलो पार्टी बनाउने गरी क्रियाशील हुन नेता कार्यकर्तालाई आग्रह गरे।

पछिल्लो समय पार्टीप्रति जनताको आकर्षण बढेको दाबी अध्यक्ष दाहालले गरेका छन्।जनताले वि.सं. २०६४ को भन्दा धेरै मत दिएर विजयी गराउन चाहेका छन्, उनले भने,वडादेखि केन्द्रसम्म एकताबद्ध भएर जनतामा जाँदा पार्टीको जित सुनिश्चित छ, देशलाई राम्रोसँग अघि बढाउनसमेत माओवादीले जित्नुको विकल्प छैन।

माओवादी जहिले पनि उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका पक्षमा रहेकाले माओवादीको तुलना अन्य पार्टीसँग हुन नसक्ने भनाइ अध्यक्ष दाहालको छ।जनताले एमसीसी नरुचाएको भन्दै यथास्थितिमा पारित हुने अवस्था नरहेको बताउँदै यसलाई पुनर्परिभाषित गर्नुपर्ने पक्षमा माओवादी रहेको उनले उल्लेख गरे।

यथास्थितिमा एमसीसी पारित हुने स्थिति बन्दैन, उठेका प्रश्नको ‘सोलुसन’ गरेर मात्र यसबारे सोच्न सकिन्छ भनेर मैले प्रधानमन्त्रीलाई भनेको छुु, उनले भने, एमसीसीका कारण अहिलेको पाँच दलीय गठबन्धन टुट्दैन, प्रभाव पनि पार्दैन।

बागमती प्रदेश र प्रदेश नं १ मा पनि अबको हप्ता दश दिनभित्रमा गठबन्धनको सरकार बन्ने जानकारी उनले दिएका छन्।पार्टी स्थायी समितिका सदस्य नारायणकाजी श्रेष्ठले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्दा जित सुनिश्चित हुने बताए।

पार्टी प्रदेश समितिका संयोजक एवं प्रतिनिधिसभा सदस्य हरि अधिकारी कुमारुले गण्डकी प्रदेशका ११ जिल्लामा पार्टी सदस्यता नवीकरणलगायत सङ्गठनात्मक गतिविधि अघि बढाइएको बताए।

केन्द्रीय समितिबाट पारित सङ्गठनात्मक कार्य तोकिएको समयभित्रै भइरहेको बताउँदै उनले जनवर्गीय सङ्गठनका कामलाई समेत छिट्टै सुरु गरिने जानकारी दिए। दैनिक न्युज नेपालबाट साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय