बुधबार , बैसाख १२, २०८१

सुर्खेत ।

सुर्खेतको चिंगाड गाउँपालिकाका स्थानीय जनप्रतिनिधिले सरकारले अनुदानमा दिएको जस्तापातामा व्यापक अनियमिता गरेको गुनासो आएको छ ।

गाउँपालिकाको वडा नम्बर २ का अध्यक्ष बुदे खत्रीले आफन्त, कार्यकर्ता र पहुँचवालालाई अनुदान उपलब्ध गराएको पाइएको हो ।

गरीव, दलित र अपांगता भएकालाई उपेक्षा गरेको आरोप उनलाई लागेको छ । उनी नेपाली कांग्रेसबाट चुनाव जितेर वडाध्यक्ष भएका हुन् ।

‘खरले छाएको घरलाई जस्तापातामा रुपान्तरण गर्ने सरकारको योजना भए पनि गाउँमा चर्को राजनीति गरिएको छ,’ चिंगाड–२ का एक स्थानीयले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘कांग्रेस भएको खण्डमा गोठका लागि पनि रकम दिने गरी नाम पठाइएको छ । आसेपासे र कार्यकर्ताहरुका लागि बजेट आएजस्तो गरेर वडाअध्यक्षले मनपरि रुपमा नाम छनोट गरेका छन् ।’

केन्द्र सरकारकाे शहरी विकास मन्त्रालयले प्रदेशमा सुरु गरेको कार्यक्रम हो– सुरक्षित आवास । यो कार्यक्रमअन्तर्गत खरले छाएको घरमा जस्तापाता खरिदका लागि ५० हजार रुपैयाँ दिने प्रावधान छ ।

चिंगाड–२ का अपांगता भएका सुरबहादुर खत्रीले चुहिने खरको छानोबाट जस्तापाताको आशा गरेका थिए । उनले वडाध्यक्षलाई भेटेरै भन्दा पनि सुनुवाई नभएको गुनासो गरे ।

‘सरकारले पचास हजार रुपैयाँ दिने भन्ने खबर सुनेको थिएँ, तर मेरो नाम नै वडाले राखिदिएन,’ सूरबहादुरले पहुँच नहुनाले गरिबले झनै दुख पाउनुपरेको गुनासो गरे ।

सोही गाउँकी तिलसरा खड्का पनि आफ्नो घर जीर्ण भएपछि अर्काको घरमा बस्दै आएकी थिइन् । जस्ता पाए आफ्नै घरमा सर्ने योजनामा रहेकी उनी पनि निराश छिन् । ‘घरमा पानी चुहिन थालेपछि अर्काको घरमा शरण लिएका छौं । तर वडाले पहुँचवालाको गोठ बनाउनका लागि पैसा दिन थालेको छ रे,’ उनने भनिन् ।

सोही वडाकी सिउकली खत्रीले अहिले नै दुईवटा घर छ । निर्माणाधीन तेस्रो घरका लागि सुरक्षित आवासले दिने ५० हजार पाउन उनले बैंकमा खाता खोलेकी छन् । वडाध्यक्ष निकटका वीरे राना, चन्द्रबहादुर नेपाली, चक्रबहादुर राना, कालो खड्कालगायतले जस्तापाताको अनुदान लिइसकेका छन् । जवकि उनीहरुको पहिलेदेखि नै जस्ताले छाएको घर छ ।

लालबहादुर खत्री, तिलक प्रसाद उपाध्याय, शिवप्रसाद उपाध्याय, चैते रोकाया, पूर्णबहादुर खत्रीलगायत खरको छानो भएकाहरुको भने नाम नै पठाइएको छैन । वडामा यो आयोजनाले ६२ वटा घरको छानो फेर्ने तयारी गरेको छ । सबैले बैंकमा खाता खोलिसकेका छन् भने केहि दिनमा नै उनीहरुको खातामा रकम जम्मा हुने प्रक्रियामा रहेको छ ।

यसबारेमा कुरा गर्न खोज्दा वडा अध्यक्ष बुदे खत्रीसँग सम्पर्क हुन सकेन । चिंगाड गाउँपालिकामा यो कार्यक्रमका लागि २५ लाख रुपैयाँ विनियोजन भएको छ ।

शहरी संघीय आयोजना कार्यान्वयन इकाइ सुर्खेतका इन्जिनियर रामकृष्ण आचार्यले पालिकाले नै मूल्यांकन गरी पठाउने गरेको बताए । ‘हामी त्यहाँ जाँदैनौं, सम्बन्धित पालिकाले नै मूल्यांकन गरेर पठाउने हो,’ उनी भन्छन्, ‘खरका छानामुक्त बनाउने हाम्रो कार्यक्रम हो । प्राथमिकता अनुसार सबैका छाना बदलिन्छन् ।’

उनले जस्तापाताले घर छाएका व्यक्तिहरुले नपाउने बताउँदै त्यस्तो भएको खण्डमा उजुरी दिन सकिने बताए । ‘उहाँहरुले पालिकामा उजुरी दिन सक्नुहुन्छ । उजुरी दिएको खण्डमा जस्तापाता भएकाहरुले उक्त अनुदान पाउँदैनन्,’ उनी भन्छन्, ‘खरको छाना हटाउने काम मात्रै हो । यसमा धनी र गरिब भन्ने कुरा हुँदैन । जसको खरको छानो छ उसले यो अनुदान पाउँछ ।’

Source : Nepal Press

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय