बुधबार , बैसाख १२, २०८१

काठमाडौं

नेकपा (एमाले) भित्रको आन्तरिक विवाद एकपछि अर्को गरेर लम्बिएको छ । विवाद समाधानको लागि गठित कार्यदलले दश बुँदे सहमति गरेर अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई प्रतिवेदन हस्तान्तरणसमेत गरिसकेको छ।

र, हिजो बसेको एमाले स्थायी कमिटी बैठकले उक्त प्रतिवेदन ग्रहणसँगै कार्यदल नै भंग गरिदिएको छ ।

अध्यक्ष ओलीले हिजो राखेका स्थायी कमिटी बैठक र संसदीय दलको बैठकमा नेपाल पक्ष सहभागी भएन ।

बरु, स्थायी कमिटी बैठक चलिरहेको समयमा नेपाल पक्षका नेताहरु पुगेर अध्यक्ष ओलीलाई बैठक स्थगन गर्न आग्रह गरेका थिए ।

यसरी बैठक स्थगन गर्न माग गर्दै ओली भेट्न पुग्ने नेताहरुमा कार्यदलमा रहेका माधव नेपाल पक्षधर सदस्यहरु भीम रावल, भीम आचार्य, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट थिए ।

ओलीले बैठक नियमित एजेण्डाअनुसार चलिरहेकोले नरोक्ने जवाफ दिएपछि उनीहरु त्यहाँबाट बाहिरिएका थिए ।

अध्यक्ष ओलीले अब पार्टीमा माधव नेपालहरुलाई पर्खिने नाममा समय खेर नफाल्ने र बैठक नरोकिने सन्देश दिईसकेका छन् ।

उनले हिजोको दुवै बैठकमार्फत प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको विपक्षमा पार्टी एकढिक्का भएर उभिने निर्णयसमेत गराएका छन् ।

यतिमात्रै होईन, प्रधानमन्त्री देउवालाई संसद्मा विश्वासको मत लिन नदिनेपनि निर्णय गरिएको छ ।

माधव नेपाल पक्षले देउवालाई विश्वासको मत दिनेगरि तयारी थालेको छ । यसबारेमा अध्यक्ष ओली जानकार नै छन् ।

देउवालाई विश्वासको मत दिएर यो संसदलाई पूर्ण कार्यकाल चलाउन दिनुपर्ने नेपालको लाईन छ । बरु, उनी पक्षधर सांसदहरु नै विश्वासको मत दिने वा नदिने भन्नेमा स्पष्ट भैसकेका छैनन् ।

पार्टीको एकता जटिलतातर्फ अघि बढेको दोस्रो पुस्ताका नेताहरुको निश्कर्ष छ । कार्यदल भंग भएको अवस्थामा पनि उनीहरु पार्टी एकता कायम गर्नेगरि आजपनि छलफलमा जुटेका छन् ।

उनीहरु यतिवेला सिंहदरबारस्थित् एमाले संसदीय दलको कार्यालयमा अनौपचारिक रुपमा छलफलमा छन् ।

छलफलमा कार्यदलमा भएका प्रायः सबै सदस्यहरुको उपस्थित् छ । बरु, कार्यदलमा नभएका नेताहरु पृथ्बीसुब्बा गुरुङ, योगेश भट्टराई र विष्णु रिजाललगायतका नेताहरु पनि छलफलमा छन् ।

दोस्रो पुस्ताका नेताहरु अब अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई बाईपास गरेर भएपनि पार्टी एकता कायम गर्नेगरि छलफलमा जुटेका छन् ।

नेता विष्णु रिजालले पत्रकार ऋषि धमलासँगको कुराकानीमा भनेका छन्–‘एमाले एकता आजको अनिवार्य आवश्यकत्ता हो । हामी एकता जोगाउनेगरि छलफलमा छौं ।’ उनले आवश्यक परे अब दोस्रो पुस्ताका नेताहरुले पार्टीमा हस्तक्षेप गर्नसक्ने पनि सम्भावना औंल्याए ।

एमालेमा यसअघि पनि दोस्रो पुस्ताका नेतालाई नेतृत्वमा स्थापित गर्ने ओली, नेपाल, वामदेव गौतम, झलनाथ खनाललगायतलाई अभिभावकीय भूमिकामा राख्ने उनीहरुको योजना छ ।

पार्टीको संसदीय दलको नेतामा नै सुवास नेम्वाङ, विष्णु पौडेल र भीम रावलमध्ये जसको नाममा सहमति हुन्छ, उसैलाई दलको नेता बनाएर अघि बढ्ने उनीहरुको तयारी छ ।

एकताका लागि दुवै तर्फबाट दोस्रो पुस्ताका नेताहरु ईमानदार बनेको र सहमतिको खाकासमेत तयार पारेको अवस्थामा नेतृत्वबीच कुरा नमिल्दा दोस्रो पुस्ताका नेताहरु निराश छन् ।

अब एकताको नाममा नेतृत्वको मात्रै भर नपर्ने आवश्यक परे आज/भोलि नै हस्तक्षेप गरेर अघि बढ्ने उनीहरुको योजना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय