मंगलबार , बैसाख ११, २०८१

Nepali Rajneeti

नेकपा एमालेले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय नेताको उपस्थिति शुक्रबार ललितपुरमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो।

यस्तै नेकपा एमाले विवाद मिलाउनका लागि बनेको कार्यदल विघटन गर्ने निर्णयसमेत गरेको छ। पार्टी एकता जोगाउन २ जेठमा बनेको कार्यदल विघटन गर्ने निर्णय गरिएको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

‘बैठकले कार्यदलको प्रस्तावलाई ग्रहण र अनुमोदन गर्ने, कार्यदलका लागि ओली सरकारलाई धन्यवाद दिने निर्णय गरेका छौँ। कार्यदलले राम्रो काम गरेको र कार्यदलको सुझावलाई पार्टीले लिनेछ र कार्यदल विघटन गर्ने निर्णय गरेका हौं ’, ज्ञवालीले भने।

बैठकले सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारको जनमतमा वैधानिकता नरहेको ठहरसमेत गरेको छ।

यस्तै आजको बैठकले सर्वोच्च अदालतको फैसलाई स्वीकार्ने निर्णय गरेको समेत नेता ज्ञवालीले जानकारी गराए।

‘अदालतको फैसलालाई हामीले संविधान संशोधन हुने गरि आएको ठहर गरेका छौं, तर हामी यसलाई स्वीकारेर अगाडि बढ्छौ’, उनले भने।

बैठकले केपी ओली नेतृत्वको सरकारले जनताको पक्षमा काम गरेको निर्णयसमेत गरेको छ।

यसैबीच आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालका नेताहरू स्थायी कमिटी बैठक स्थगित गर्न माग राख्दै पुगेका थिए।

कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्नुपर्ने भन्दै उनीहरूले बैठक रोक्न माग राखेका थिए। तर ओलीले कार्यसूची अनुसार बैठक अघि बढ्ने भन्दै अस्वीकार गरेका थिए।

‘हामीले ४/५ वटा महत्वपूर्ण कुरा राख्यौं। कार्यदलले जे सहमति गरेको छ। त्यसको कार्यान्वयन गरौं। एमाले एकता टुटाउने काम नगरियोस्, देश अप्ठ्यारो स्थितिमा छ। एकताबारे सोच्नुस्। यो बैठक रोक्नुस् भन्यौं’, बैठकबाट बाहिरिएपछि भीम रावलले भने,‘यो बैठक जारी रहन्छ भनेपछि हामी बाहिरियौं।’

बैठक सार्न अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेपछि उनीहरू फर्किएका हुन्।

नेपाल पक्षीय नेताको जवाफबारे नेता ज्ञवालीले सधैभरी पार्टी बैठक रोक्न नसकिने बताए। ‘हामीले उहाँहरूको आग्रहमा असार २८ गतेको बैठक स्थगित गर्‍यौं। हामीले २९, ३० र ३१ पनि बैठक राखेनौं। सधैभरी बैठक रोक्नु पनि भएन। पार्टी पनि आफ्नै ढंगले अगाडि बढ्नुपर्‍यो। अनन्तकालसम्म पर्खेर बस्नु सम्भव पनि हुन्न’, ज्ञवालीले भने।

बैठकमा उपस्थितिको हस्ताक्षर गर्न भनिए पनि आफूहरूले हस्ताक्षर नगरेको उनीहरूले बताए।

च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा अध्यक्ष केपी शर्मा ओलीसहित उनी पक्षका नेताहरूको बैठक बसिरहेका बेला नेपाल पक्षका नेताहरू पनि पुगेका थिए।

बैठकस्थलमा उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र भीम आचार्य पुगेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय