शनिबार , बैसाख ८, २०८१

काठमाडौं ।

एकपक्षीय रुपमा बोलाएको स्थायी कमिटी बैठक रोक्न र दशबुँदे सहमतिअनुसार अगाडि बढ्न माधवकुमार नेपाल पक्षले गरेको आग्रह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् ।

अध्यक्ष ओलीले शुक्रबार स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका छन् । तुलसीलाल प्रतिष्ठान, च्यासलमा बिहान साढे ११ बजेतिर शुरु भएको बैठकमा ओली पक्षीय नेताहरु मात्र सहभागी भएका थिए ।

तर बैठक चलिरहँदा पार्टीमा एकताका लागि १०बुँदे सहमति जुटाएको कार्यदलमा रहेका माधवकुमार नेपाल समूहका नेताहरु च्यासलमा आइपुगेका थिए ।

कार्यदलमा नेपाल पक्षका संयोजक समेत रहेका उपाध्यक्ष भीम रावलका अनुसार अध्यक्ष ओलीले बैठक पुस्तिकामा हस्ताक्षर गरेर मात्र बोल्न पाउने बताएका थिए ।

तर आफूले कार्यदलको तर्फबाट बोल्न दिनुस्, नभए उपाध्यक्षको तर्फबाट बोल्न दिनुस् भनेपछि अध्यक्ष ओलीले समय दिएका थिए ।

बैठकमा रावलले कार्यदलले गरेको सहमतिअनुसार अघि बढ्न र बैठक रोक्न आग्रह गरेका छन् ।

उनका अनुसार कार्यदलले २ जेठ २०७५ मा कायम रहेको एमालेको कमिटीमा फर्किने र त्यसको बैठक बोलाउने प्रक्रियामा समेत सहमति जुटाएको छ ।

तर त्यसविपरीत बैठक राखेको भन्दै उनले भने, ‘कार्यदलले जे सहमति गरेको छ, त्यसअनुसार बैठक अगाडि बढाउनुस् ।’

‘एमालेको एकतालाई खण्डित गर्ने खेल नगर्नुस् । राष्ट्रिय एकता, आम जनता र एमालेका कार्यकर्ताका हितका लागि एमालेको एकता अपरिहार्य छ ।

यसलाई कायम गरियोस् । कार्यदलमा जे सहमति गरेका छौं, त्यो भन्दा अन्यथा नगरियोस्,’ उनले अघि भने ।

एमालेको एकताका लागि अध्यक्ष ओली र अरु नेताहरुले गम्भीर रुपमा सोच्नुपर्ने भन्दै उनले स्थायी कमिटी र संसदीय दलको बैठक स्थगित गर्न आग्रह गरेका छन् ।

कार्यदलमा भएको सहमति अनुसार अगाडि बढ्ला भन्ने अपेक्षा गरेको बेला निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो निवासमा सर्ने क्रममा दिएको अभिव्यक्तिले झनै अप्ठ्यारो पारेको भन्दै उनले, ‘अलिकति समय आवश्यक पर्‍यो । आजको स्थायी कमिटी र संसदीय दलको बैठक स्थगित गर्नुस् ।’

तर ओलीले बैठक रोक्न अस्वीकार गरेका छन् । ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटी बैठक अहिले बसिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय