बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

२१ फागुन २०७७ मा सरकारसँग तीनबुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएका विप्लवले पार्टी नेता धर्मेन्द्र बास्तोला लिएर प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

विप्लव समूहका नेताहरुका अनुसार ८ मंसिर २०७१ मा विप्लवले नयाँ पार्टी बनाएपछि प्रचण्डसँग सम्भवतः पहिलो पटक भेटवार्ता हो । शान्तिपूर्ण राजनीतिमा आएपछि दुई पटक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका उनले अरु दलका नेताहरुलाई भेटेका थिएनन् । प्रचण्डसँग पनि भेट भएको थिएन ।

यद्यपि पार्टीका अरु नेताहरुले भने प्रचण्डलाई यसअघि पनि भेटेको विप्लव समूहका एक नेताले बताए ।

बुधबार खुमलटारमा भएको भेटमा प्रचण्ड र विप्लव दुबैले विगतका दिन सम्झिएका थिए ।

प्रचण्डले माओवादी सशस्त्र विद्रोहको नेतृत्व गर्दा विप्लव त्यही पार्टीमा थिए । वृहत शान्ति सम्झौतासँगै माओवादी शान्ति प्रक्रियामा आएपछि पनि केही समय एउटै पार्टीमा रहे ।

मोहन वैद्यले पार्टी फुटाउँदा विप्लव उनीतिर लागेका उनले ८ मंसिर २०७१ मा आफ्नै नेतृत्वमा नयाँ पार्टी बनाएका थिए ।

भेटमा सहभागी विप्लव समूहका नेता बास्तोलाका अनुसार दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । ‘हामी बृहत कम्युनिस्ट ध्रुवीकरणको पक्षमा छौं’ उनले भने, ‘उहाँहरुबीच समग्र विषयमा छलफल भएको छ ।’

भेटमा विप्लवले सरकारसँग भएको सहमति कार्यान्वयनको एजेण्डा पनि उठाएका छन् । बन्दी नेता कार्यकर्ता रिहा गर्ने सहमति भए पनि कार्यान्वयन नभएको विप्लव समूहको गुनासो छ । विप्लव र उनका समूहका नेताहरुले तत्कालीन प्रधानमन्त्री ओलीलाई भेटेर पनि यसबारे असन्तुष्टि जनाएका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेका उनले यो मुद्दा पनि उठाएका हुन् । प्रचण्डले सहमति कार्यान्वयनका लागि पहल गर्ने आश्वासन दिएको एक नेताले बताए ।

खुमलटार पुगेका विप्लवले विरामी रहेकी प्रचण्ड पत्नी सीता दाहाललाई समेत भेटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय