काठमाडौं।

आन्तरिक विवादमा फस्दै आएको जनता समाजवादी पार्टी अन्ततःविभाजनतर्फ अग्रसर भएको छ ।

दुवै पक्षलाई मिलाउने प्रयास सफल नभएपछि जसपा विभाजन हुने निश्चितझैं देखिएको हो । निर्वाचन आयोगले जसपाका अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव दुवै पक्षलाई दल दर्ता सम्बन्धी ऐन अनुसार आधिकारिता दाबी लिएर आउन आग्रह गरेको छ ।

यस अघि, जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिता दाबी गरेको थियो । जसपाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ अनुरूप आधिकारिता दाबी गरेपछि आयोगले दुवै पक्षलाई छलफलमा बोलाएको हो । दुवै पक्षलाई मिलाउने आयोगको मंगलबारको प्रयास सफल नभएपछि आयोगले सो आग्रह गरेको प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो ।

आयोगले सहमतिका लागि जसपाका दुवै पक्षलाई आयोगमा बोलाएर छलफल गरेको थियो । आयोगमा भएको छलफलमा दुवै पक्ष पार्टी एकताको साटो फुटेर आ–आफ्नो बाटो लाग्न सहमत भएकाथिए ।

छलफलमा सहभागी ठाकुर पक्षका नेता अनिल झाले मिलेर जानेबारे केहीबेर छलफल गरे पनित्यो सम्भावना नदेखिएकाले अलग हुन हस्ताक्षर गरिएको बताउनुभयो । आयोग परिसरमा पत्रकारसँग नेता झाले भन्नुभयो– ‘अब हामी मिलेर जान सकेनौं ।

हामीलाई अलग गरिदिनुस् भनेर माइन्युटमा सही गरेर आएका छौं । उपेन्द्रजीबाट एकसाथ जान सकिँदैन भन्ने कुरा आएको छ ।’ आयोगमा मंगलबार भएको छलफलमा सहभागी दुवै तर्फका नेताहरूलाई आयोगले हस्ताक्षर गराएर माइन्युट खडा गरेको नेता झाले बताउनुभयो ।

अध्यक्ष ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा गएको थियो । यादव पक्ष भने ओली सरकारमा जान नहुने भन्नेमा थियो । यादव पक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा हस्ताक्षर गरेको थियो ।

दुवै पक्षले आफ्नो दाबी नछाडेपछि आयोगले उनीहरूलाई दल दर्तासम्बन्धी ऐन अनुसार दाबी लिएर आउन भनेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । दुवै पक्ष पार्टीको आधिकारिता दाबी गर्दै आयोगमा निवेदन दिन सहमत भएका थिए ।

सो पार्टीमा अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष यादव पक्षले एक अर्कालाई कारबाही गरेर पार्टीबाट निष्कासन गरे ता पनि आयोगले मान्यता दिएको थिएन ।

नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय