बिहिबार , चैत्र १५, २०८०

Nepali Rajneeti

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरको राजनीतिक धरातल सकिएला भन्ने चिन्ता आफूलाई रहेको बताएका छन्।

सेतोपाटीसँग भिडिओ कुराकानी गर्दै यादवले ठाकुर पक्षले किर्ते र जालासाजी काम गरेको आरोप लगाए।

‘जुन डकुमेन्ट बाहिर आएको छ। त्यसमा एउटा काटेर अर्को पेष्ट गरेको प्रष्ट देखिन्छ। हामीले महन्थजीलाई अधिकार दिएको छैन। त्यो किर्ते गरेको हो,’ उनले भने,’ठाकुरजीले ८२ वर्षको उमेरमा किन किर्ते गरेको होला। उहाँको राजनीतिक धरातल यति खुस्किसक्यो?, नैतिकताको आधार यति तल पुगिसक्यो?’

उनले ठाकुरलाई पार्टीले कुनै अधिकार नदिएको समेत दाबी गरे। जसपा विवाद उत्कर्षमा पुगेका बेला ठाकुरले आफूलाई जसपाको प्रथम अध्यक्षको हैसियतमा काम गर्न दिएको भन्ने डकुमेन्ट निर्वाचन आयोगमा बुझाएका थिए।

ठाकुर पक्षसँग कुनै विचार नभएको भन्दै उनले सहमतिकै आधारमा छुट्टिने कि भनेर सामान्य छलफलसमेत चलेको उनले बताए।

‘हाम्रा केही साथीहरूले पार्टीमा विचार नमिलेपछि हिलो छ्यापाछ्याप गर्नभन्दा सहमतिमै छुट्टिने कि भनेर कुरा गर्नुभएको हो। हामी समाजवादी लोकतन्त्रसँग मान्छौं। उहाँहरूलाई समाजवाद के हो यसको लक्ष्य केहो भन्ने नै थाहा छैन,’ उनले भने,’उहाँहरूले जस्तो मधेसी पहाडीमात्रै नारा लगाएर न मधेसी जनताको मुक्ति हुन्छ न त देशको हित हुन्छ, न राष्ट्र निर्माणको कार्य पूरा हुन्छ। यो कुरा बुझ्न उहाँहरूलाई धेरै समय लाग्छ।’

सहमतिमै छुट्टिन असम्भव नभए पनि तत्काल त्यस्तो सम्भावना नरहेको उनले बताए।

जसपाभिको विवादकै विषयमा केन्द्रित रहेर हामीले जसपा अध्यक्ष उपेन्द्र यादवसँग भिडिओ कुराकानी गरेका छौं। यस कुराकानीका मुख्य अंश:

-महन्थजीलाई कुनै अधिकार दिएको छैन। दुबै अध्यक्ष समान हुन्। तर उहाँले आफैंलाई सर्वशक्तिमान भए भन्नुभएको छ। यो उहाँको किर्ते काम हो। अदालतमा त्यो किर्ते जालसाजीमा पर्नुहोला। त्यसपछि उहाँको राजनीतिक धरातल सकिएला। नैतिकता त समाप्त भइसक्यो। बचे-खुचेको प्रतिष्ठा पनि सकिएला भन्ने चिन्ता हामीले गर्दिनु परेको छ, उहाँको।

-राजपासँगको एकता घाटा-नाफाका लागि भन्दा पनि एउटा राजनीतिक शक्ति निर्माणको प्रयास थियो। पुँजीवाद र साम्यवादको विचको विकल्प समाजवाद दिन सकियोस्, लोकतन्त्र र समानता होस् अनि विभेदको अन्त्य गर्न सकोस् भन्ने थियो। हामीले गलत काम गरेका थियौं भन्ने मलाई लाग्दैन।

-हाम्रा सांसद विभाजन गर्न राज्य र विदेशी शक्ति नै लागे। पैसाको खोलो बगाइयो। जहाँ सत्ता र शक्तिको लोभ लालच देखाइन्छ, त्यसो बेला एक हात सांसद यताउता हुनु अचम्म होइन। त्यसले शक्तिको मापन हुँदैन। शक्तिको मापन विचार र जनमतले हुने हो। उहाँहरूसँग कुनै विचार छैन अनि जनमत पनि छैन।

-नेपालमा भूराजनीतिको प्रभाव अत्यन्तै छ। आजदेखि होइन दुई/अढाई सय वर्षदेखि रहँदै आएको छ। ओलीले अलोकतान्त्रिक र संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्न जुन प्रतिगमनकारी कदम उठाए, त्यसलाई समर्थन गर्न बाहिर र भित्रका शक्तिहरू लागेका हुन्। यसको असर देशका अन्य पार्टीमा समेत परेको छ। त्यसबाट मुलुकलाई कति जोगाउन सकिन्छ, राजनीतिक दललाई कति संगठित गर्न सकिन्छ भन्ने महत्वपूर्ण हो।

-सबैभन्दा धेरै मधेसी मन्त्री बनेको पहिलो पटक हो। मधेसको नाम सुन्नै नचाहने केपी ओलीले कसरी मन्त्री बनाए होलान्। महन्थजीको माया लागेर त होइन। यो त मधेसका एजेन्डालाई क्षतविक्षत बनाइएको हो। यो सबै धन्दा गरेर पनि सत्ता टिकाउन सकेनन्।

-हिजो पद र पैसाको प्रलोभनमा गलत आश्वासनमा केही साथीहरू महन्थजीको पछाडि लाग्नुभएको थियो। भ्रम टुटेपछि त्यहीभित्रका साथीहरूले महन्थबाट धोका पाइयो भनिरहनुभएको छ। भोलि के गर्नुहोला अलग कुरा हो तर गलत बाटोमा लागिएको रहेछ भन्ने प्रष्ट छ।

-हिजो बाटो बिराएका साथीहरू आफ्नो घर फर्किनुहुन्छ भन्ने आशा गरेका छौं।

-अहिलेसम्म पार्टी विभाजन भएको छैन। केही साथीहरू सत्ता र शक्तिको लोभमा प्रतिगमनको मतियार बनेका छन्। हामीले उहाँहरूलाई कारबाही गरेका छौं। पार्टीको विभाजनका प्रयास हुन सक्छ तर अत्तालिन जरूरी छैन। हामीसँग जनाधार छ।

-निर्वाचन आयोगमा दुई थरीले दाबी गरेको बेलामा आधिकारिकता दिने आयोगले हो। हामीले बहुमतको दाबी गरेका छौं। अर्को पक्षले पनि दाबी गरेका छन्। निर्वाचन आयोगले एकताका लागि र सहमतिका लागि प्रयास गर्नु कानुन अन्तर्गतको कुरा हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय