बिहिबार , बैसाख ६, २०८१

काठमाडौं ।

अभियन्ता ज्वाला संग्रौला यतिबेला प्रहरी हिरासतमा छिन् । अभद्र व्यवहारको कसूरमा पक्राउ परेकी उनले सरकारी कागजात कीर्ते गरेको भन्दै प्रहरीले अभियोग थपेको छ ।

संग्रौलामाथि अनुसन्धान गर्ने क्रममा सरकारी कागजात पनि कीर्ते गरेको प्रमाण फेला परेको प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहले जानकारी दिए ।

अनुसन्धानको क्रममा अदालती प्रक्रियाका लागि विभिन्न कागजातहरु प्रमाणीकरण गर्दा संग्रौलाले पेस गरेका कागजात र कागजात जारी गर्ने सरकारी निकायको विवरण नमिलेको प्रहरीले बताएको छ ।

संग्रौलाका कागजात प्रमाणीकरणका लागि प्रहरीले उनको जन्मस्थान भएको पाँचथरको हिलिहाङ गाउँपालिकाबाट विवरण माग गरेका थियो । तर, संग्रौलाले पेस गरेको कागजात र गाउँपालिकाले पठाएको विवरण मेल नखाएपछि कीर्ते अभियोग लागेको हो ।

प्रहरीको अनुसार ज्वालाले हिलिहाङ गाउँपालिका– ५ (साबिक सुभाङ गाविस) बाट लिएको भनेर संग्रौलाले अविवाहिताको प्रमाणपत्र र जन्मदर्ताको प्रमाणपत्र पेस गरेकी थिइन् । प्रहरीले कागजात प्रमाणीकरणका लागि हिलिहाङ गाउँपालिकामा पठाउँदा उनले कीर्ते गरेको पाइएको बतायो ।

यस विषयमा गाउँपालिकाले समेत प्रहरीलाई कागजात प्रमाणीकरण हुन नसकेको भनेर पत्र लेख्ने भएको छ । उक्त पत्र आएपछि प्रहरीले संग्रौलाविरुद्ध कीर्तेमा समेत मुद्दा दर्ता गर्ने तयारी गरेको छ।

संग्रौलाले प्रहरीमा पेस गरेको कागजात साविकको सुभाङ गाउँ विकास समितिका छन् । ती कागजातहरु २०७४ असार ५ गतेको मितिमा जारी भएका छन् । जबकि त्यसअघि नै गाविस खारेज भएर गाउँपालिका भइसकेको थियो । प्रहरीलाई यही शंका लागेर थप प्रमाणीकरणका लागि पत्र पठाएका थियो ।

संग्रौलाको जन्मदर्तामा हस्ताक्षर भएका सचिवले पनि त्यसबेला गाउँपालिकामा काम गरेको नदेखिएको प्रहरीको भनाइ छ । उनका पति हिमाल उपाध्यायले नाता प्रमाणीकरणको पत्र कीर्ते गरेको प्रहरीको भनाइ छ । यसले उनका पति पनि कीर्तेमा तानिनसक्ने बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय