बिहिबार , बैसाख ६, २०८१

२६ असार, काठमाडौं । बिहीबार र शुक्रबार देशभरका साना तथा ठूला नदीहरुमा बाढीको उच्च सम्भावना रहेकाले पूर्वतयारी र प्रतिकार्यमा जुट्न सरकारले आह्वान गरेको छ ।

विशेषगरी तराई, सिवालिक र मध्य पहाडी क्षेत्रमा आगामी २०–३६ घण्टासम्म भारी वर्षा हुने अनुमान छ । जसका कारण नदी तथा खोलाहरुमा ठूलो बाढी आउने छ । तराईका कन्काई र कमला नदीमा पनि पानीको सतह खतराको लेभलभन्दा माथि पुग्ने चेतावनीसमेत दिइएको छ ।

नेपाल बाढी सूचनाले सचेत पार्दै भनेको छ, ‘प्रदेश १, २, ३, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका तराईको भूभागबाट बहने साना तथा मझौला नदीहरूमा बाढीको उच्च सम्भावना, पूर्वतयारी र प्रतिकार्यमा जुटौं ।’

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार र शुक्रबार देशभर वर्षाको सम्भावना छ । विहीबार राति केही स्थानमा ‘अति भारी’ वर्षा हुने पूर्वानुमान छ ।

आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै मौसमविदले हवाई र सडक यातायातमा अवरोध आउने बताएका छन् ।

मौसमी बुलेटिनमा लेखिएको छ, ‘नदीहरुमा जलको बहाव, स्तर बढ्न सक्ने र पहाडी क्षेत्रहरुमा पहिरोहरुको जोखिम बढ्न सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ । साथै, हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्नेछ ।’

हाल मनसुन न्यूनचापीय रेखा नेपालको नजिक रहेकाले हाल देशभर पूर्ण बदली रही मध्य र पूर्वका केही स्थानहरु तथा पश्चिम क्षेत्रको धेरैजसो स्थानहरुमा मनसुनी वर्षा जारी छ । आगामी २४ घण्टासम्म पनि मनसुन न्यूनचापीय रेखा नेपालको पूर्वदेखि पश्चिम तराई भूभागमा रहीरहने मौसमविदले बताएका छन् ।

Source : onlinekhabar.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय