बुधबार , बैसाख १२, २०८१

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पछिल्लो अवस्थाबारे अध्ययन गर्न सरकारले ‘सेरो प्रिभिलेन्स सर्भे’ गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार सर्भेका लागि प्रक्रिया सुरु भइसकेको छ । अहिले अभिमुखीकरण तालिम चलिरहेको भन्दै उनले भने, ‘तीन दिनपछि सर्भे प्राविधिकहरु फिल्डमा खटिन्छन् ।’

‘सेरो प्रिभिलेन्स सर्भे’का क्रममा देशभरका ७७ जिल्लामै पुगेर १३ हजार नमुना संकलन गरिने उनले बताए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र केन्द्रीय तथ्यांक विभागको सहभागिता रहने सर्वेक्षणको नेतृत्व मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गर्ने छ । प्राविधिक एवं आर्थिक सहयोग भने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गर्ने प्रवक्ता पौडेलले बताए ।

नेपालमा प्रयोग भएका कोरोना खोपको प्रभावकारिताबारे पनि अध्ययन भइरहेको परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालील जानकारी दिए । ‘फरक–फरक कम्पनीको भ्याक्सिन प्रयोग भएको छ । यस्तो अवस्थामा कुन भ्याक्सिन बढी प्रभावकारी छ भन्नेबारे पनि अध्ययन भइरहेको छ’ डा ज्ञवालीले भने ।

र्वेक्षणका लागि आवश्यक पर्ने ‘प्रोटोकल’ परिषद्ले स्वीकृत गरिसकेको छ । प्रोटोकल्स अनुसार फिल्डमा पुगेका प्राविधिकले सहभागीसँग प्रश्नहरु सोध्नेछन् । ‘एक्स्पोजरको हिस्ट्री लिइन्छ । भ्याक्सिन लिए नलिएको जानकारी लिइन्छ । रगत परीक्षण गरिन्छ,’ उनले भने, ‘जसबाट रगतमा एन्टिबडी विकास भए/नभएको हेरिन्छ ।’

७७ वटै जिल्लामा गरिएको सर्वेक्षणको नमुना संकलन गरिन्छ । प्राप्त नमुनाको रिपोर्ट अनुसार तथ्यांकको अनुसन्धान एवं विश्लेषण गरिन्छ । विश्लेषणबाट आउने नतिजाबारे मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिने उनले बताए ।

सर्वेक्षणले कति जनसंख्यामा संक्रमण देखियो ? कति जनसंख्या एक्स्पोज हुन बाँकी रहेछ ? खोप लगाएकामा कस्तो प्रभावकारिता देखियो ? संक्रमण कुन क्षेत्रमा बढी रहेछ ? जोखिम क्षेत्र कुन रहेछ ? लगायतका जानकारी आउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय