बिहिबार , बैसाख १३, २०८१

काठमाडौं- भोजपुर जिल्ला सदरमुकामममा नेत्रविक्रम चन्द विप्लव समुहका कार्यकर्ता र प्रहरीबीच भएको गोली हानाहानमा प्रहरीसहित २ जनाको मृत्यु भएको विषयलाई आजका पत्रपत्रिकाले मुख्य समाचार बनाएका छन् ।

भोजपुरको यो घटना कुनै भिडन्त भन्दा पनि साथी साथी रहेका प्रहरी जवान र विप्लवका जिल्ला इन्चार्जबीचको कुराकानीकै क्रममा गोली हानाहान भएको थियो ।

संगै बसेर चिया खाएका विप्लवका जिल्ला इन्चार्ज नीरकुमार राई र इलाका प्रहरी कार्यालय लेटाङमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान संजीव राईबीच गोली हानाहान भएको थियो । गोली लागेर दुवै जनाको मृत्यु भएको  छ ।

भोजपुर नगरपालिका–७ स्थित हटिया लाइनमा सोमबार विप्लवसमूहका केही कार्यकर्ता हतियारसहित प्रवेश गरेको गोप्य सूचना जिल्ला प्रहरी कार्यालयलाई प्राप्त भएपछि उनीहरुको खोजीका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिएको थियो।

यसैविषयलाई मुख्य समाचार बनाउदै कान्तिपुरले सँगै चियापान अनि गोली हानाहान शीर्षकमा खबर लेखेको छ । उसले घटना कसरी भएको थियो भन्ने विवरण खबरमा पेश गरेको छ । यस्तो छ कान्तिपुरमा छापिएको समाचार –

सदरमुकाम मुख्य बजारको पश्चिमतिर रहेको पान्धारे नामको होटलमा बुधबार बिहान सादा पोसाकका प्रहरी र चन्द समूहका जिल्ला नेता एउटै टेबुलमा बसेर चिया खाइरहेका थिए । दुवै जनाबीच पहिलेदेखि नै चिनजान थियो ।

भेट हुनासाथ हात मिलाए र चिया पिउन सुरु गरे । चन्द समूहका ओखलढुंगा जिल्ला इन्चार्ज नीरकुमार राई र सादा पोसाकका प्रहरी जवान सञ्जीव राई चियाको चुस्कीसँगै गफिँदै थिए ।

प्रत्यक्षदर्शीका अनुसार नीरकुमार दुई दिनयता चिया पसलमा आउने/जाने गरिरहेका थिए । बुधबार पनि बिहानै आएर अरू मान्छेसँग ‘हेलोहाई’ गरिरहेका थिए । करिब साढे ८ बजे सञ्जीव आइपुगे । दुवैले ‘दाइभाइ’ को साइनो पनि लगाए । अभिवादन साटासाट गरे । सञ्जीव सुराकीका लागि चिया पसल छिरेका थिए । गफकै क्रममा नीरकुमारले सञ्जीवलाई भने, ‘विप्लवको पार्टीमा लाग्यो भन्दैमा मलाई किन खेदो गर्छौ ? पार्टीमा लाग्नु आस्थाको कुरा हो ।’ सञ्जीवले सहज ढंगले उत्तर फर्काए, ‘हामी दुवै राई भएकाले भाइभाइ हो । केगर्नु र ?’

सञ्जीवले यति भनेपछि नीरकुमार पिसाब गर्न जाने भन्दै पसलबाट निस्कन खोजे । सञ्जीवले नीरकुमारको पाखुरा समाते । ‘गफ गरौं, तपाईं कहाँ जान लागेको ? अहिले नजानुस्, अरू साथी आउँदै छन्,’ सञ्जीवको भनाइ उद्धृत गर्दै प्रत्यक्षदर्शीले कान्तिपुरलाई सुनाए । दुवै जनाबीच तानातान भयो । चन्द समूहका हतियार बोकेका कार्यकर्ता दगुर्दै होटल अघिल्तिर आए ।

त्यतिबेला तानातानकै क्रममा नीरकुमार र सञ्जीव होटल बाहिर पुगिसकेका थिए । चन्द समूहका कार्यकर्ताले सञ्जीवलाई गोली प्रहार गरे । त्यति नै खेर सादा पोसाकका हतियारधारी प्रहरी पनि घटनास्थलमा आइपुगे । प्रहरीले पनि नीरकुमारलाई गोली प्रहार गरे । दुवै जना गोलीले ढलेपछि चन्द समूहका चार जना कार्यकर्ता त्यहाँबाट भागे । प्रहरीले उनीहरूको खोजी भइरहेको जनाएको छ ।

होटल बाहिर हटियामा आएका सर्वसाधारण भागाभाग गर्न थाले । ‘गोली चलेपछि तरकारी पसले र ग्राहकको भागाभाग भयो, कोही डरले रुनसमेत थाले’ एक प्रत्यक्षदर्शीले भने ।

घटनामा एक प्रहरी घाइते छन् । जिल्ला अस्पतालमा उनको उपचार भइरहेको छ । बुधबारे हाटबजार आसपास चन्द कार्यकर्ता आएको गोप्य सूचनाका आधारमा पक्राउ गर्न गएका प्रहरी जवान राईलाई चन्द कार्यकर्ताले गोली चलाएको प्रहरीको दाबी छ । घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब ५ सय मिटर दूरीमा छ ।

‘चन्द समूहका हतियारधारी कार्यकर्ता रहेको गोप्य सूचनाका आधारमा नियन्त्रणमा लिने अभिप्रायले सादा पोसाकमा प्रहरी खटिएका थिए,’ प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले भने, ‘हाट नजिकै रहेको पान्धारे होटलमा एक शंकास्पद मानिस भेटिएपछि पक्राउको प्रयास गर्दा अचानक प्रहरी जवान सञ्जीवमाथि गोली प्रहार भयो ।’

नीरकुमारले सञ्जीवको कोखमा गोली प्रहार गरेपछि सँगै सादा पोसाकमा रहेका प्रहरीलेआफ्ना साथीलाई जोगाउन र नीरकुमारलाई पक्राउ गर्न खोज्दा तानातान भएर नीरकुमारलाई गोली लागेको खतिवडाको दाबी छ । मृतक प्रहरी जवान सञ्जीवको घर खोटाङ हो ।

चन्द समूहका एक नेताले भने प्रहरी जवान सञ्जीवको मृत्यु प्रहरीकै गोलीबाट भएको दाबी गरे । ‘प्रशान्त (नीरकुमार) ओखलढुंगा सेक्रेटरी हुन्, उनी पार्टीमा बिदा लिएर घर गएका थिए । उनले कुनै किसिमको हतियार बोकेका थिएनन्,’ ती नेताले दाबी गरे, ‘घम्साघम्सीका क्रममा प्रहरीले चलाएको गोली नै सञ्जीवलाई लागेको हो ।’ नीरकुमारको घर भोजपुर षडानन्द १४ बोया हो । चन्द समूहको गोलीले घाइते प्रहरी जवान खेमनाथ भट्टराईको कुमको हड्डी भाँचिएको प्रहरीले जनाएको छ ।

यस्तै नागरिक दैनिकले  विप्लव कार्यकर्ता प्रहरी मुठभेडः प्रहरीसहित दुईको ज्यान गयो शीर्षकमा खबर लेखेको छ । विप्लव समुहको गोलीबाट पहिलो पटक एकजना सुरक्षाकर्मीको मृत्यु भएको छ भने विप्लव तर्फका अहिलेसम्म ८ जना मारिएका छन् । यो घटना पछि भोजपुरमा त्रास फैलिएको समाचारमा उल्लेख छ ।

नयाँ पत्रिकाले मुठभेडमा एक प्रहरी र विप्लवका जिल्ला इन्चार्जको मृत्यु  शीर्षकमा नयाँ पत्रिकाले खबर लेखेको छ भने अन्नपूर्ण पोस्ट्ले विप्लवको गोलीले प्रहरीको मृत्यु शीर्षकमा खबर छापेको छ ।

यो बाहेक आजको कान्तिपुर र नागरिक दैनिकले सवोच्च अदालतले विषादी परिक्षण नरोक्न दिएको अन्तरिम आदेशलाई पनि प्राथमिकतका साथ छापेका छन् ।

बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले सरकारले भारतबाट नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने निर्णय कार्यन्वयन नगर्न आदेश दिएको हो।

आजको अन्नपूर्णले भने असारमा पैसा सक्ने बढाइएको चटारोको विषयलाई मुख्य समाचार बनाएको छ । असारे विकास र गोष्ठि सेमिनार गरेर एकै दिनमा औसतमा ५ अर्ब रुपैयाँ सक्ने गरेको समाचारमा उल्लेख छ ।

नयाँ पत्रिकाले भने प्रधानमन्त्री केपी शर्मा ओलीले हिलोमाथि रातो कार्पेटको ओछ्याएर हिडेको विषयालाई प्राथमिकताका साथ छापेको छ ।

त्रिभुवन विश्वविद्यालयको ६० औँ वार्षिक दिवसका अवसरमा सहभागी भएका प्रधानमन्त्री ओलीले हिलोमाथि ओच्छ्याइएको रेड कार्पेटमा हिँडेर उपकुलपति कार्यालयको नवनिर्मित भवन र सरस्वतीको मन्दिर उद्घाटन गरेका थिए ।

Source : Nepalsamaya.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय