बिहिबार , बैसाख ६, २०८१

Nepali Rajneeti

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले महन्थठाकुरले किर्ते र जालसाझी काम गरेको गम्भीर आरोप लगाएका छन् । यादवले ठाकुरविरुद्ध किर्ते र जालसाझी मुद्दा हालिने तयारी भैरहेको पनि सुनाए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा उनले यस्तो बताएका हुन् । यादवसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईँरू राष्ट्रपतिमाथि किन खनिनुभएको छ ? किन आलोचना गरिरहनुभएको छ ?

हामीहरूले कहाँ राष्ट्रपतिको आलोचना गरेका छौँ ? हामीले त संविधानले राष्ट्रपतिलाई दिएको संरक्षकको भूमिका, खासगरी गार्जियनको भूमिका निर्वाह गर्नका लागि आग्रह पो गरेको त, यसलाई आलोचना भनिन्छ र ?

राष्ट्रपतिबाट प्रधानमन्त्रीको रबरस्ट्याम्पको काम भयो भनेर प्रचण्डले हिजो भन्नुभयो, उता कांग्रेस सभापति शेरबशादुर देउवाले पनि राष्ट्रपति त प्रधानमन्त्री ओलीको कार्यकर्ता भईन् भनेर आलोचना गर्नुभयो, यसलाई कसरी लिनुभएको छ ?

अब राष्ट्रपतिजीले ती सबै कुराहरु सुनेर किन यस्तो प्रश्नचिन्ह् खडा भयो भन्ने कुरामा चिन्तन र मनन गर्नुहोला, र कार्यशैलीलाई एउटा संविधानको संरक्षकअनुकुल बनाउनुहोला भनेर नै भन्नुभएको होला । यो त राम्रो कुरा हो ।

संघीय लोकतान्त्रिक गणतन्त्रको राष्ट्रपति भनेको संविधानको संरक्षक हो नि, होईन र ?

अब संविधानको संरक्षक त पहिलो संसद् विघटन हुदाँखेरि असंवैधानिक कार्य हो भनेर सर्वोच्चले भन्यो । असंवैधानिक कार्यमा राष्ट्रपतिबाट हस्ताक्षर कसरी भयो ? राष्ट्रपतिले कति हतार/हतार गर्नुभयो ? संविधानका विज्ञहरूसंग सल्लाह गरेर गर्नुपथ्र्यो भन्ने कुरा नै विभिन्न राजनीतिज्ञहरूमा, समाजका अगुवाहरुमा र विभिन्न विद्धानको मनमा यो प्रश्न उठेको छ ।

त्यसोभए तपाईँ राष्ट्रपतिको विरुद्धमा जानुहुन्न अब ?

होईन, अहिले हामी कसैका विरुद्धमा छैनौँ । हामी संविधान, लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रविपरित काम गर्ने, समावेशीता, समानुपातिक र धर्मनिरपेक्षताको विरुद्धमा कार्य गर्ने प्रवृत्तिका विरुद्ध लडिराखेका छौँ ।

हाम्रो देशमा विभिन्न खालका टिकाटिप्पणीहरु हुन्छन–खासमा संविधान संकटमा पर्यो, गणतन्त्र संकटमा पर्यो, संविधान र गणतन्त्रमाथि घात÷प्रतिघात भयो भनिएको छ । हामीहरुले त्यसको आधार दिनुपर्दैन ? हचुवाको तालमा टिकाटिपणी गरिरहने ?

अब टिकाटिप्पणी गर्ने वातावरण बन्न नपरोस भन्न चाहन्छु । राष्ट्रपतिजस्तो गरिमामय पदको सम्मान होस् र राष्ट्रपतिजीको गरिमामाथि प्रश्नचिन्ह उठाउन कसैलाई कहिल्यै नपरोस् । त्यो हाम्रो ईच्छा हो । तर, त्यहीअनुकुलको परिस्थिति नबनोस् भन्ने हाम्रो पनि चाहना हो ।

तपाईँहरु शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि हस्ताक्षर गरेर अदालत जानुभयो ? संसद् पूनःस्थापना भएन भने के हुन्छ त ?

हेर्नुहोस्, हाम्रो न्यायको लडाईँ हो । हामीलाई आशा र विस्वास छ कि सम्मानित सर्वोच्च अदालतले न्याय गर्छ भनेर ।

न्याय कसरी गर्छ ? सर्वोच्च अदालतले प्रधानमन्त्री बनाउने होईन नि उप्रेन्दजी ?

संविधानको व्याख्या गर्ने अधिकार त सर्वोच्चलाई नै छ । संविधानअनुकुलका कार्य भए या भएनन्, संविधानको प्रतिकुल भयो या अनुकुल भयो भनेर हेर्ने कार्य त सर्वोच्चकै हो ।

त्यसोभए सर्वोच्चले संसद् पूनःस्थापना गर्छ भन्ने विपक्षी गठवन्धनको निश्कर्ष हो ? तपाईँहरुलाई यसमा पूरा भरोसा र विश्वास छ हो ?

हो, विश्वास छ । अदालतले संसद् पूनःस्थापना गर्छ ।

अनि शेरबहादुर देउवालाई कसरी प्रधानमन्त्री बनाउनुहुन्छ ? तपाईँहरुसँग त बहुमतनै छैन नि ?

बहुमत नभए १४९ जनाको हस्ताक्षर कसले गरिदियो ?

त्यो त एमालेका पनि सांसदहरुको हस्ताक्षर छ नि ? अरु दलका सांसद चोर्ने काम भयो भन्ने आरोप पनि छ त ? के भन्नुहुन्छ ?

१४६ जना सांसदहरु हामी सर्वोच्च अदालतमा सशरिर नै उपस्थित् भएका छौं । त्यहाँ हाम्रो हस्ताक्षर सनाखत गरिएको छ । अनि त्यो बहुमत होईन र ?

माधवकुमार नेपालले हिजोपनि भन्नुभयो–मलाई प्रधानमनत्रीको अफर आईसक्यो भनेर ?

त्यस्तो त आईरहन्छ नि । प्रधानमन्त्री बन्न अफर आउने कुरा कुनै खराब कुरा त होईन ।

तर, माधवकुमार नेपालले तपाईँलाई धोका दिनुभयो भने त समस्या आउँछ नि ?

माधवकुमार नेपालजीले त्यस्तो गर्नुहुन्छ भन्ने कुरा कसैलाई लागेको छैन ।

तपाईँहरु माधव नेपालप्रति त्यति विश्वस्त हुनुहुन्छ, उहाँलाई धेरै विश्वास गर्नुहुन्छ है ?

हो, हामीले विश्वास गरेका छौं ।

माधवकुमार नेपालले केपी शर्मा आलीलाई साथ दिनुहुन्छ त ? तपाईँको व्यक्तिगत टिप्पणी के छ ?

साथ दिने भए हामीहरुसंगै कसरी उहाँ सँगै हुनुहुन्थ्यो होला ? उहाँ त अहिल हाम्रो गठबन्धनमा हुनुहुन्छ ।

तपाईँहरुको गठवन्धन कहिलेसम्म जान्छ ? यही सरकार बन्नलाई र मन्त्री÷प्रधानमन्त्री बन्नलाई मात्रै हो कि ? गठबन्धन चुनावसम्म लम्बिन्छ ?

यो लोकतान्त्रिक गठबन्धन हो । देशमा जबसम्म लोकतन्त्र खतरामा रहन्छ, प्रतिगमन र प्रतिक्रान्तिको खतरा रहिरहन्छ, तबसम्म हामी यही गठबन्धनमार्फत अघि बढ्छौं । यसलाई अगाडि बढाउनुपर्छ ।

यो गठबन्धनले हाम्रो देशमा परिवर्तन गर्नसक्ने आधार के छ त ? अन्तर्राष्ट्रिय क्षेत्रको हाम्रो देशमा चासो छ,अनि तपाईँहरु केही बोल्नुहुन्न ?

यही गठबन्धनले मुलुकमा ठुला/ठुला परिवर्तन ल्याएको छ । हिजोमात्रै यस आन्दोलनमा मधेशी जनअधिकार फोरमले ल्याएको परिवर्तन, जनयुद्धबाट माओवादीले ल्याएको परिवर्तन, जनआन्दोलनबाट नेपाली काँग्रेसको भूमिकालगायतका अरु पार्टीहरुको भुमिका के कम देख्नुभएको छ तपाईँले यो देशमा ?

तर, तपाईँहरुले त केपी ओलीलाई जसरी हुन्छ हटाउने रणनीति बनाउनुभएको छ अरे, तर हटाउनको लागि अहिलेसम्म कुनै आधार त दिन सक्नुभएको छैन नि ? प्रधानमन्त्री ओली त एकपछि अर्को गरेर झनै शक्तिशाली बन्दै जानुभएको छ, यो कुरा मान्न तयार हुनुहुन्छ ?

दुई तिहाईको प्रधानमन्त्री झर्दा झर्दा विश्वासको मतमा पनि हारेको, विश्वासको मत प्राप्त गर्न संसद्बाट नसकेको प्रधानमन्त्री कति बलियो है ?

तपाईँलाई थाहा छ–प्रधानमन्त्रीको पछाडि कुन–कुन राष्ट्र छन, तपाईँकै पार्टीका अध्यक्ष महन्थ ठाकुरजी हुनुहुन्छ ? उहाँ त बलियो प्रधानमन्त्री बन्नुभयो नि ?

अब हेर्नुहोस् के हो भन्दाखेरि २०१७ सालमा राजा महेन्द्रले ‘कू’ गर्दाखेरी त्यतिखेर जनताबाट निर्वाचित सरकारलाई अपदस्त गरि र संसद्लाई भंग गरि दलहरुमाथि प्रतिवन्ध लगाउँदाखेरि नेपाली काँग्रेसका नेताहरु जो माथिल्ला नेताहरु थिए, अधिकांश नेताहरु राजा महेन्द्रकहाँ गए, मन्त्री मण्डलमा रहेका अधिकांश मन्त्रीहरु पनि राजाकहाँ गए, नेपाल कम्यष्टि पार्टीका महासचिवसमेत त्यतै गए, त्यस्तै एउटा तराईँ काँग्रेस भन्ने थियो । त्यो पुरै पार्टीलाई लिएर देवान्नद झा दरवारमा नै गए, तर पनि राजतन्त्रत टिकेन नि, के भयो ? भन्ने कुरा दुनियाँलाई थाहा छ । पञ्चायत पनि टिकेन, निर्दलीयता पनि टिकेन, राजतन्त्र पनि टिकेन । त्यो कुन फेदको प्रधानमन्त्री हो र अहिलेको प्रधानमन्त्री ?

उहाँसंग त बहुमत छ, तपाईँकै पार्टीका २० जना सांसदले त उहाँलाई समर्थन गरेका छन नि ?

हेर्नुहोस् के हो भन्नदाखेरि उहासंग बहु्मत भएको भए त विश्वासको मत लिहाल्नुहुन्थ्यो त, उहाँ विश्वासको मतमा कसरी पराजित हुनुभयो त ?

अब तपाँईँको पार्टीले केपी शर्मा ओलीलाई साथ दिन्छ कि दिँदैन् ?

अहिले यो घट्नाक्रममा त साथ दिने सम्भावना नै छैन ।

तपाईँको पार्टी अध्यक्ष महन्थ ठाकुरत अझैपनि केपी शर्मा ओलीसंग सहकार्य गर्ने भनिरहनु भएको छ त ?

उहाँहरु त केपी ओलीको प्रतिगमनको मतिहार नै भएर गैसक्नुभयो । उहाँहरुको के कुरा गर्नुहुन्छ र ? लोकतन्त्र र संघीयताको विरुद्धमा उहाँहरु जानुभयो । मधेश आन्दोलनका उपलब्धीलाई समाप्त पार्ने खेल जुन ओलीले खेलिराखेका छन्, त्यसको मतियार भएर गैसकेकाहरुको के चर्चा गर्ने ?

महन्थ र राजेन्द्र भनेको त मधेशको मसिया हो नि त ? उहाँहरुले हामी हो भन्नुभएको छ नि त ?

हेर्नुहोस, मधेशमा नै प्रशस्त मधेशी छन । जो मधेशको भूमिमा जन्मेका सपुतहरु छन । मधेशको रक्षा गर्ने सपुतहरु मधेशमा प्रशस्त छन् । कुनै कमि छैन ।

अब तपाईँ र महन्थ ठाकुरको बीचमा एकता हुन्छ ?

अब उहाँले यो प्रतिगमनको मतियार बन्न छोडेर लोकतन्त्रको पक्षमा उभिनुभयो भने र आफुले गरेका गल्तिलाई स्वीकार गरेर आउनुहुन्छ भने एकता हुन्छ, किन एकता नहुनु ?

एकले अर्कालाई सिध्याउनको लागि यत्रो खेल भयो, एक–अर्कालाई कारवाही गर्नुभयो, अझ पनि एकताको कुरा गर्नुहुन्छ तपाईँ ?

अब हेर्नुहोस् जुन कुरामा गल्ती भयो, ती कुरा उहाँहरुले महसुस गरेर आत्माआलोचना गरेर आईसकेपछि त्यसमा सोच्ने ठाउँ हुन्छ । त्यति निर्दयी र कठोर पनि छैनौँ । तर, उहाँहरुले आफूले गरेका गल्तीलाई स्वीकार गर्नुपर्छ पहिला ।

महन्थ समुहको भनाई के छ भने–अब उपेन्द्र समुहसंग सहकार्य र एकता हुँदैन् ?

अब त्यो उहाँहरुको कुरा भयो । उहाँहरुको कुरा त उहाँहरुले नै भन्नुहोला नि ।

तपाईको पार्टीको विवाद पनि यतिवेला निर्वाचन आयोगमा छ, आयोगले के गर्छ आधिकारिकता कसलाई दिन्छ ? तपाईँहरुलाई दिन्छ कि महन्थ ठाकुरलाई दिन्छ ?

निर्वाचन आयोगमा हाम्रो दावी राजनीतिक दलसम्बन्धी ऐन, नियम, कानुन, विधि र प्रक्रिया सवैअनुकुल छ ।

त्यसो भए तपाईँले पाउनुहुन्छ आधिकारिकता ?

किन नपाउनु ?

निर्वाचन आयोगले महन्थ ठाकुरलाई दियो भने के गर्नुहुन्छ ?

यो देशमा ऐन/कानून त छ नि ।

ऐन/कानुन त छ, तर बहुमत त महन्थ ठाकुरको पक्षमा छ ?

५१ जनामा हामी ३० जनाले हस्ताक्षर दिएका छौं आयोगमा ।

अनि महन्थ ठाकुरले थप्नुभएन ?

मैले यहाँ एक हजार मान्छे थपे भने हुन्छ ? होईन, यो उम्मेरमा महन्थ ठाकुरलाई कसले चाहीँ सल्लाह दिए ? यो किर्ते काम गर्नको लागि ? भोलि किर्ते मुद्दा अदालतमा जाँदैछ । विचारा ! भोलि किर्तेमा जेल जानुहोला भन्ने मलाई चिन्ता छ । कसले यो बुद्धि सिकायो उहाँलाई ? मेरो पनि दस्तखत दुरुपयोग गर्ने ? सबैको किर्ते गर्ने काम ? त्यो आयोगमा प्रस्तुत गरेको कागज यसो हेर्यो भने किर्ते देखिहाल्छ । त्यसको वैज्ञानिक जाँच गर्ने हो भनि उहाँ फस्नुहुन्छ । यो उमेरमा कसले सल्लाह दिन्छ यस्तो काम गर्नको लागि ? किन यस्तो काम गर्न लाग्नुभयो ? राजनीतिमा किर्ते, जालसाझी त गर्ने होईन नि । यो त गाउँघरका जालीफटाहाले गर्ने काम पो हो । कसको बुद्धिमा उहाँ हिड्नुभएको छ ?

होईन, उहाँमाथि तपाईले किर्ते र जालसाझीको आरोप लगाईरहँदाखेरि आधार ,र कारण त दिनुपर्ला नि होईन र ?

प्रशस्त आधार छ । विना आधार हामीले भनेका होईनौँ । भोलि अदालतमा कानून व्यवसायीहरु जाँदैछन । किर्ते उहाँले गरेको हो ।

महन्थ ठाकुरसंग पछिल्लो समय कुरा भयो ?

आवश्यकता पर्यो भने हुनसक्छ । कुराकानी गर्नै हुन्न भन्ने त छैन नि । कसले सल्लाह दियो उहाँलाई कसको सल्लाहमा उहाँ हिड्नुहुन्छ ? त्यो प अचम्म लाग्ने कुरा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय