बिहिबार , चैत्र १५, २०८०

काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनका विश्वासपात्र भनिएका महेश बस्नेत रुष्ट भएका छन् । गृहमन्त्रीको दौडमा रहेका बस्नेतलाई रोकेपछि रुष्ट भएका हुन् ।

बस्नेतले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीका केही सल्लाहकारका कारण रोकेको भन्दै गुट परिवर्तनसम्मको चेतावनी दिएका छन् ।

उनले विष्णु रिमाल र राजन भट्टराईलाई उचित समयमा देखाइदिने चेतावनी समेत दिएको बुझिएको छ ।

गृहमन्त्रीको मुख्य दाबेदार बस्नेत आक्रोशित भई निकटस्थसँग छलफलमा रहेको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार बस्नेतले योगदानलाई महत्वहीन ठान्न थालिएको भन्दै गुट परिवर्तनसम्म गर्न सक्नेबारे छलफल गरेको बुझिएको छ ।

बस्नेतले ओलीको सत्ता टिकाउन जोखिम मोलेर भूमिका खेलेको भन्दै गृहमन्त्री दाबी गर्दै आएका थिए । उनको गृहमन्त्री बन्ने चर्चा पनि थियो । तर, ओलीले खगराज अधिकारीलाई गृहमन्त्री नियुक्त गरेपछि बस्नेत रुष्ट भएका हुन् ।

प्रधानमन्त्री ओलीको सत्ता संकट टार्न बस्नेतले जनता समाजवादी पार्टीका सांसदहरुलाई डोलेश्वर रिसोर्टमा व्यवस्थापन गर्ने देखि साथमा ल्याउन भूमिका खेलेका थिए ।

उनले एक वर्ष अघि तत्कालीन समाजवादी पार्टी नेपाल विभाजनका लागि असफल भूमिका खेलेका थिए । डा. सुरेन्द्र यादवलाई महोत्तरीबाट ल्याउँदा उनीमाथि अपहरणको सम्म आरोप लागेको थियो ।

२०७४ सालको आमनिर्वाचनमा बर्दियाबाट बामदेव गौतमलाई चुनाव हराउन महेश बस्नेतले भूमिका खेलेको आरोप समेत लागेको थियो । गौतमलाई चुनाव हराएपछि ओलीका लागि प्रधानमन्त्री पद सहज भएको थियो ।

बस्नेतले ओलीलाई अप्ठ्यारो समयमा पनि साथ दिदै आएका छन् । जुझारु बनेर ओलीको पक्षमा भूमिका खेल्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय