बुधबार , बैसाख १२, २०८१

काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई सरकारमा सहभागी गराएका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदलाई पूर्णता दिन गृहकार्य अगाडि बढाएका छन् ।

बालुवाटार स्रोतका अनुसार बुधबार वा बिहीबारभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना छ ।

शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन हुँदा एमालेकै अर्का समूह (माधवकुमार नेपाल) लाई समेट्न भन्दै प्रधानमन्त्री ओलीले सात मन्त्रालय आफैंसँग राखेका थिए । पार्टी एकताको आह्वान गर्दै ६ बुँदे प्रस्ताव पनि अघि सारेका थिए ।

तर नेपाल समूहले दुराशययुक्त भन्दै ओलीको सहमति प्रस्तावलाई अस्वीकार गरेको छ ।

अन्तिम प्रयास गर्दा पनि नेपाल समूह एकताका लागि तयार नभएको बताउने ओली निकट एक नेता, मन्त्रिपरिषदलाई पूर्णता दिनेतर्फ प्रधानमन्त्री अघि बढेको बताउँछन् । ‘माधव नेपाल समूहकै मागअनुसार ६ बुँदे प्रस्ताव गरिएको हो । तर फेरि अर्को बखेडा झिक्नुभयो’, ती नेता भन्छन् ।

त्यसमध्ये गृह मन्त्रालयमा धेरै नेताको चासो छ । प्रधानमन्त्री ओलीलाई दबाब पनि यही मन्त्री चयनमा देखिएको छ । ओलीलाई यो तहको राजनीतिक उँचाइ दिलाउन साथ दिने नेताहरूले गृहमा दाबी गरेको स्रोतको भनाइ छ ।

उनका अनुसार माधव नेपाल समूहसँग एकताको सम्भावना न्यून भएको निष्कर्षसहित मन्त्रिपरिषद् पूर्णता दिनेतर्फ प्रधानमन्त्री ओली अगाडि बढेका छन् । तर प्रधानमन्त्रीलाई मन्त्रिपरिषद् पूर्णता दिन सजिलो भने भइरहेको छैन ।

जसपाका दश जना समेट्दै १७ सदस्यीय मन्त्रिपरिषद् बनाएका प्रधानमन्त्री ओलीले अब आठ जना मात्रै थप गर्न पाउँछन् । प्रधानमन्त्रीसँग रक्षा र गृहसहित ७ मन्त्रालय छ ।

अहिलेको मन्त्रिपरिषद्‍मा माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका एक जना पनि मन्त्री छैनन् । ५ पुसमा भएको प्रतिनिधिसभा विघटनको निर्णयलाई साथ दिंदै आएका गृहमन्त्री रामबहादुर थापा बादलसहित सात मन्त्री सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण ६ जेठमा पदमुक्त भएका छन् ।

स्रोतका अनुसार, गृहसहित सातै मन्त्रालय पूर्वमाओवादीले पाउनुपर्ने माग प्रधानमन्त्रीसँग राखिएको छ ।

तर प्रधानमन्त्री ओलीले भने दुईदेखि तीन जनालाई मात्र समेट्ने बताएका छन् । ‘सम्भवतः बादल कमरेडको भागमा दुई जना मन्त्री पर्ला’, बालुवाटार निकट स्रोत भन्छ ।

बदलिंदो राजनीतिक समीकरणका कारण २० सांसद रहेको जसपाका ठाकुर पक्षलाई १० मन्त्री दिनुपरेकाले पनि प्रधानमन्त्रीलाई मिलाउन सजिलो भइरहेको छैन ।

झलनाथ खनाल, माधव नेपाल र वामदेव गौतमहरुलाई छोडेर आफ्नो समूहमा आएकाहरुलाई मन्त्री बनाउने प्रतिबद्धता तोड्न पनि प्रधानमन्त्री ओलीलाई सजिलो छैन । गुट फेरेर आएकामध्ये रघुवीर महासेठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनेका छन् भने शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री भए ।

त्यसैले बाँकी सात मन्त्रालयका निम्ति आठ जनाको नियुक्ति प्रम ओलीलाई फलामको चिउरा सरह छ ।

जुनियरबाट मन्त्री !

माधव नेपाल समूहसँग कुरा मिलेमा गृह वा अर्थसहित केही मन्त्रालय दिने प्रधानमन्त्री ओलीको तयारी थियो । नेपाल समूहमा रहेर पार्टी एकताका लागि वार्तारत सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई लगायत नेता ओलीको रोजाइमा थिए । तर तत्काल यो सम्भावना टरेको बालुवाटार निकट नेताहरू बताउँछन् ।

अब प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले आफू निकट नेताहरूबाटै मन्त्री चयन गर्नेछन् । तर अर्थमन्त्री विष्णुप्रसाद पौडेलपछि रघुवीर महासेठ दोस्रो वरीयताको उपप्रधानमन्त्री बनिसकेकाले जुनियर नेतालाई मन्त्री बनाउने गृहकार्य भइरहेको छ ।

त्यसमध्ये गृह मन्त्रालयमा धेरै नेताको चासो छ । प्रधानमन्त्री ओलीलाई दबाब पनि यही मन्त्री चयनमा देखिएको छ । ओलीलाई यो तहको राजनीतिक उँचाइ दिलाउन साथ दिने नेताहरूले गृहमा दाबी गरेको स्रोतको भनाइ छ ।

त्यसमध्ये पनि जसपा विभाजन गराउँदै सरकारमा सहभागी गराउनेसम्मको राजनीतिक कोर्समा देखिने गरी संलग्न भएका पूर्वमन्त्री महेश बस्नेतको बलियो दावी छ ।

उनीप्रति ओली पनि सकारात्मक रहेको बताइन्छ । बस्नेत २०७१ मा उद्योगमन्त्री थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पराजित बस्नेत २०७४ मा भने भक्तपुर–२ बाट निर्वाचित भए ।

साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कलह चर्केर जाँदा ओलीको सरकार जोगाउने प्रयोजनमा जसपा (साविकको समाजवादी पार्टी, नेपाल)का सांसद ‘अपहरण’को आरोप समेत खेपे । ३० वैशाखमा पनि भक्तपुरको एक रिसोर्टमा जसपाको ठाकुर पक्षका सांसदहरू भेला गराउन पनि उनले नै भूमिका खेलेका थिए ।

बस्नेतसँगै खगराज अधिकारी र कर्णबहादुर थापा पनि गृहमन्त्रीको दौडमा छन् । अधिकारी गण्डकी प्रदेश र थापा सुदूरपश्चिमका हुन् । अहिलेको मन्त्रिपरिषद्मा प्रदेश–२ बाट एघार जना मन्त्री रहेकाले भौगोलिक सन्तुलन कायम गर्न बस्नेत नभएर अधिकारी वा थापा मन्त्री बन्नुपर्ने लविङ ओली समूहमा भइरहेको छ । अधिकारी र थापा दुवै ओलीलाई साथ दिंदै आएका नेता हुन् ।

अधिकारी, थापा, बस्नेतबाहेक प्रधानमन्त्री ओलीलाई लगातार साथ दिंदै आएका नेताहरूले मन्त्रीको आकांक्षा राखेका छन् । सार्वजनिक खपतका निम्ति मन्त्रीको लालसा नराखेको बताउने गरे पनि विशाल भट्टराई, राजेन्द्र गौतम, नारदमुनि राना, शान्ता चौधरी, निरुदेवी पाल, विमला राई पौडेल, किसान श्रेष्ठ, राजेन्द्र राई, कृष्णभक्त पोखरेल, ध्रुव शाही, पार्वती विशुंखेलगायत मन्त्री बन्ने दौडमा छन् ।

कतिपयलाई प्रधानमन्त्री ओली आफैंले वचन दिएका छन् भने कतिपयमा भने लगातार साथ दिएकाले मन्त्री बनाउनै पर्ने मत छ । एक नेता, यिनै नेताहरु मध्येबाट मन्त्री चयन हुने सम्भावना देख्छन् ।

अहिले गृह, रक्षा, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण, संघीय ममिला तथा सामान्य प्रशासन र सञ्चार तथा प्रविधि मन्त्रालय रिक्त छ ।

आफू निकट नेताहरुको दाबीमा भौगोलिक, जातीय, लैंगिक सन्तुलन समेत मिलाउनुपर्ने दबाब प्रधानमन्त्रीमाथि छ । अहिलेको मन्त्रिपरिषद्मा एक जना पनि दलित समुदायका परेका छैनन् ।

प्रधानमन्त्री ओलीले गएको १० पुससम्म खेलकुदमन्त्री रहेका जगत विश्वकर्मालाई पदमुक्त गर्दै विमला विश्वकर्मालाई राज्यमन्त्री बनाएका थिए । उनलाई पनि शुक्रबार पदमुक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय