बुधबार , बैसाख १२, २०८१

काठमाडौं

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटको असर गम्भीर हुनसक्ने देखिसकेका छन् ।

कर्णाली प्रदेश र सुदूरपश्चिमको फ्लोर क्रसले उनीमाथि दबाब बढेको छ । अर्कोतर्फ, एमालेका माधवकुमार नेपाल समूहका २३ सांसद समेतले प्रतिनिधि सभा विघटनविरुद्ध र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेबारे दायर रिटले अप्ठ्यारोमा पारेको छ ।

एमालेभित्र अहिले १५ सिट रहेको जनता समाजवादी पार्टीलाई १० जना मन्त्री दिन हुने तर माधव नेपाललाई पेलेर जाने ? प्रश्न उठ्न थालेको छ । आफ्नालाई पाखा राखेर भिन्न विचारकालाई काखा राखेको भन्दै ओलीविरुद्ध आलोचना हुनथालेको छ ।

एमाले फुट्न लागेपछि ओलीले एकपछि अर्को विकल्प तयार गरेका छन् । उनले नेपालको माग बमोजिम २ जेठ २०७५ को अवस्थामा फर्कन तयार भएको ६ बुँदे एकता प्रस्ताव सारे ।

तर, माधव नेपाल पक्षले त्यसलाई नमान्ने र जालझेलपूर्ण शैलीको संज्ञा दियो । आक्रामक रुपमा प्रस्तुत हुँदै गएका नेपाल धेरै अगाडि बढिसकेका छन् ।

एमाले एकताको लागि पछिल्लो समय नेपाल समूहबाट एक व्यक्ति एक पदको विषय समेत उठेको छ ।

ओलीले प्रधानमन्त्री या पार्टी अध्यक्ष मध्ये एक रोजेमा सहमति बन्ने सम्भावना पनि देखिएको छ । नेपालले विश्वस्त सूत्रमार्फत् उक्त प्रस्ताव पठाएका छन् ।

नेकपा एमालेको एकताका लागि राष्ट्रपति विद्यादेवी भण्डारी देखि बामदेव गौतम समेत सक्रिय छन् । उनीहरुले विभिन्न विकल्पमा छलफल गरेका छन् ।

माधव नेपाललाई प्रधानमन्त्री बनाएर जानेबारे पनि छलफल बढेको छ । नेपाललाई प्रधानमन्त्री बनाउन ओली तयार भएमा एमाले फुटबाट जोगिने र माओवादी केन्द्र पनि एमालेसँग नजिकिने अवस्था बन्नेमा शितलनिवास देखि बामदेव निवास भैंसेपाटीमा छलफल चलेको बुझिएको छ ।

त्यसले पुनः कम्युनिस्ट एकताको माहोल बन्न सक्ने कतिपयको बुझाई छ ।

प्रदेशहरुमा ओलीको विरोधीलाई कमजोर पार्ने प्रयास विफल भएको छ । लुम्बिनी र गण्डकी प्रदेशमा निकै संघर्ष चलिरहेको छ ।

बागमती र प्रदेश १ मा ठूलो प्रहार हुनेवाला छ । केन्द्र सरकारमा ओलीमाथिको प्रहारले नयाँ घटनाक्रम विकास हुँदै गएको छ ।

अवस्था यस्तो आइसकेको छ कि ओली निरन्तर कमजोर हुँदै गएका छन् । त्यसैले ओली पक्षकै केही नेता देखि शितलनिवासले समेत माधव नेपाललाई विकल्पका रुपमा अगाडि सारेर बढ्नेबारे परामर्श थालेको छ ।

अब तत्काल मिल्न सक्ने भनेको ओलीले पार्टी अध्यक्ष या प्रधानमन्त्रीमध्ये एक पद छाडेमा मात्र हो । नेपाल समूह त्यसका लागि ओली तयार भएमा छलफल बढाउन सकिने शर्त ओलीसम्म पठाएको छ । तर, सत्ता संकट टार्न निकै जोखिम मोल्दै आएका ओलीले सत्ता नै छाडिहाल्ने सम्भावना तत्काल देखिदैन ।

माधव नेपाल प्रधानमन्त्री बन्नका लागि पनि संसद पुनःस्थापना हुनुपर्छ । धारा ७६ को उपधारा ३ मा फर्किएमा भने त्यस्तो घटना विकास हुनसक्छ । माधव नेपालको नाममा एमाले र माओवादी केन्द्रबीच सहमति बन्ने सम्भावना पनि छ । अहिले त्यसतर्फ समेत प्रयास बढेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय