बिहिबार , मंग्सिर २१, २०८०

तनहुँको रिसिङ गाउँपालिका– १ कोइदिमका तिलबहादुर थापा बिहीबार दमौली अस्पतालको गेटमा ६० वर्षीया श्रीमती मीनमायालाई बोकेर हिँड्दै गरेको भेटिए । दुईवटै मिर्गौलाले काम गर्न छाडेपछि मीनमायाको जीवन साढे दुई वर्षदेखि डायलाइसिसको भरमा छ ।

डायलाइसिस सकेपछि उनी श्रीमतीलाई बोकेर घर फर्कँदै थिए । चार घन्टा लगाएर अस्पताल आइपुगेका उनले फर्कन तीन घन्टा लाग्ने बताए । हरेक सोमबार र बिहीबार उनी यसैगरी श्रीमतीलाई बोकेर सात घन्टाको यात्रा गर्छन् ।

‘एक महिनाअघिसम्म जतिखेर पनि सवारीसाधन पाइन्थ्यो । परिस्थिति सहज थियो । यतिवेला कोरोनाको महामारी फैलिएर सबै क्षेत्र बन्द हुन पुग्यो,’ उनले भने, ‘हामी गरिबसँग घोडागाडी हुने कुरा भएन ।

अरूका सवारीसाधन पनि चलेका छैनन् । स्वास्थ्य कमजोर भएकाले श्रीमती राम्ररी हिँड्न पनि सक्दिनन् । त्यसैले यसरी बोकेरै ल्याउने–लैजाने गरिरहेको छु ।’

परम्परागत कृषिमा आधारित थापा परिवारको अन्य आम्दानी केही छैन । त्यसैले आर्थिक अवस्था बलियो छैन । त्यसमाथि सातामा दुई दिन अस्पताल धाउनुपर्ने भएकाले उनीहरूको जीवन नै कठिन बनेको छ ।

उनीहरूले डायलाइसिस गर्दै आएको शत्रुघ्न मञ्जु डायलाइसिस युनिटले मीनमायालाई निःशुल्क डायलाइसिस गराउँदै आएको छ । निकै पुरानो बिरामी भएकाले आफूहरूलाई निःशुल्क सेवा दिएको तिलबहादुरले बताए । तिलबहादुरले श्रीमतीलाई ९ मंसिर ०७६ देखि दमौलीमा डायलाइसिस गराउँदै आएका छन् ।

बन्दीपुर गाउँपालिका– ५ कलचोकका लीलाबहादुर मगरको पनि अवस्था उस्तै छ । दमौली अस्पतालमा भेटिएका उनले गाउँकै एक छिमेकीका छोरालाई पेट्रोल हाल्ने पैसा दिएर मोटरसाइकलमा आएको बताए ।

दमौली अस्पताल परिसरमा रहेको शत्रुघ्न मञ्जु डायलाइसिस युनिटमा सेवा लिन तनहुँसहित गोर्खा, लमजुङ, स्याङ्जाबाट बिरामी आउने गर्छन् । नयाँपत्रिकावाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय